तक्दीर अधिकारी
सिड्नी। नेपाली हिन्दु समाज अष्ट्रेलियाले यस बर्षको देशका विभिन्न शहरहरुमा लागू हुने गरी घटस्थापना, देवी बिसर्जन तथा विजयादशमी टीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिका अनुसार सिड्नीमा घटस्थापना गर्न विहान ७ बजेर २५ मिनेटलाई उपयुक्त मानिएको छ । त्यसैगरी देवी विसर्जन गर्ने समय ७ः३७ तथा टीकाको उत्तम साइत ९ः४३ लाई तोकिएको छ । त्यस्तै मेल्वर्नमा घटस्थापना, देवी विसर्जन र टीकाको शुभ साइत क्रमश विहान ७ः४१, ७ः५२ र ९ः५३ उक्तम रहेको छ । ब्रीसवेनमा ८ः२१ मा घटस्थापना, ८ः३३ मा देवी विसर्जन तथा ९ः५१ मा टीकाको साइत रहेको छ । उता एडिलेडममा विहान ८ : ०५ मा घटस्थापना, ७ः२१ मा देवी विसर्जन तथा टीकाको उत्तम साइत १०ः५७ मा रहेको छ । क्यानबेरामा घटस्थापना, देवी विसर्जन र टीकाको उत्तम मूहुर्त क्रमश ७ः३३, ७ः३४ र ९ः२७, तास्मानियामा ७ः४४, ७ः५५, ९ः२१, पर्थमा ८ः३४, ८ः०७ र १०ः ३५ उत्तम साइत तोकिएको छ । डार्विनमा घटस्थापनाको निम्ती विहान ७ बजेर १, देवी विसर्जनको ७ बजेर ३१ तथा विजयादशमीको विहान ९ बजेर ११ मिनेटमा उत्तम साइत तोकिएको समितिले जनाएको छ ।
टीकाको शुभ साइत शूरु भइसकेपछि दूर्गा भवानीको प्रसाद दिनभरी नै मान्यजनको हातबाट लगाउनको निम्ती शुभ नै रहने र साइत हेर्न आवश्वक नरहेको समेत पण्डित प्रकाश ढोडारीले बताए । त्यसैगरी टीका ग्रहण गर्दा पश्चिमा तर्फ फर्कर्नु उपयुक्त हुने उनले बताए । पण्डित ढोडारीका अनुुसार सूर्य उदय हुने समय र ज्योतिषीय गणना अनुसार साइत निर्धारण गर्ने गरिन्छ ।
सिड्नीमा जमरा वितरण गरिने
१७ गते सामुहिक रुपमा घटस्थापनाको कार्यक्रम राखिएको छ । त्यसैगरी विजयादशमीको अवसरमा टीकाको दिन समाजले जमरा वितरण गर्ने भएको छ । विहान ७ : ३० देखी ९ बजेसम्म जमरा वितरण गर्ने कार्यक्रम रहेको छ। यहाँ रहेका विभिन्न नेपाली समाज तथा समुदाय सँगको सहकार्यमा यस बर्षपनि टीका लगाएपछि आशिर्वाद सँगै शिरमा लगाइने जमरा वितरण गरिने भएको होे ।
अध्यक्ष प्रन्चना शर्मा रहेको नेपाली हिन्दु समाज अष्ट्रेलियाले सन् २०१४ देखी जमरा वितरण गर्दै आइरहेको छ । यस बर्ष पनि अक्टोबर २६ गतेको दिन विहानको पुजाआजको काम सम्पन्न गरी यहाँ स्थित ८ नेपाली समुदायलाई जमरा हस्तान्तरण गरिनेछ । ती समाजलेहरुले विभिन्न शहरमा रहेका नेपालीहरुलाई जमरा प्रदान गर्ने समाजले जनाएको छ । समाजले समस्त नेपालीहरुलाई बडादशैँकोे शुभकामना दिएकोे छ ।विगतका अवसरमा धुमधामका साथ दशैँ मनाइने गरिएको भएपनि यस बर्ष भने कोभिड १९ महामारीको कारण हर्षाेउल्लास कम हुने सम्भाबना देखिएको छ ।






