लण्डन । गुल्मी जिल्ला समाज यूकेले हरेक वर्ष गर्ने च्यारिटी कार्यक्रम यस वर्ष डिसेम्बर ६ तारिख आइतबारका दिन आयोजना हुने भएको छ । विश्व अपांग दिवसको अवसरमा गरिन लागेको यो कार्यक्रम साउथ ईस्ट लण्डनको सिडेनहममा हुंदैछ ।
कार्यक्रम दिउंसो साढे दुई बजेदेखि राती ११ बजेसम्म चल्नेछ । त्यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने कार्यक्रमका संयोजक बालजंग अर्यालले जानकारी दिए । स्थानीय कलाकारका नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरु कार्यक्रमका आकर्षण रहनेछन ।
बेलायतमै रहेका केहि राष्ट्रिय कलाकारहरुलाई समेत कार्यक्रममा सहभागी गराउने प्रयासमा छलफल भइरहेको संयोजक अर्यालले बताए । महासचिव राम गलामीका अनुसार च्यारिटी कार्यक्रममा सहभागी हुने वयस्कहरुका लागि २५ पाउण्डको टिकट लाग्नेछ भने १५ वर्ष मुनिका बालबालिकालाई १० पाउण्डको टिकट छ ।
१० वर्ष भन्दा कम उमेर हुनेका लागि निशुल्क छ । कार्यक्रममा सहभागिताका लागि गुल्मी जिल्ला समाज यूकेले बेलायतबासी सबै नेपालीलाई आव्हान गरेको छ।
अध्यक्ष अर्जुन गौतमले भने, ‘यो कार्यक्रम बेलायतका सबै नेपालीहरुका लागि हो । गैरगुल्मेलीहरुलाई पनि विशेष स्वागत छ ।’ अपांग दिवसको अवसरमा गुल्मी जिल्ला समाजले हरेक वर्ष च्यारिटी कार्यक्रम गर्दै आएको छ । समाजले गुल्मीसहित नेपालका विभिन्न ठाउंमा अपांग, अनाथ, असाहय तथा विकट क्षेत्रका समुदायका लागि विभिन्न परोपकारी कार्यहरु गर्दै आएको छ ।








