तक्दीर अधिकारी, सिड्नी
गैरआवासीय नेपाली संघको आयोजनामा ओसनिया क्षेत्रीय कार्यसमितिको क्षेत्रीय भेला र ज्ञान सम्मेलन आइतवार सम्पन्न भएको छ । कोरोना भाइरस महामारीको कारण भौतिक रुपमै उपस्थित भएर कार्यक्रम आयोजना गर्न सम्भव नभएको कारण अनलाइन जुम मार्फत कार्यक्रम सम्पन्न गरिएको हो । शनिवारको पहिलो दिनको कार्यक्रम नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले उद्घाटन गरेका थिए । पहिलो दिनको कार्यक्रममा संस्थाको विभिन्न गतिविधिमा छलफल गरिएको छ । भने दोस्रो दिन आइतवारको कार्यक्रममा ज्ञान तथा सीपको विषयमा विज्ञहरुले प्रस्तुती दिएका छन् ।
ओसनिया क्षेत्रीय महिला संयोजक जानकी पौडेलले शनिवारको कार्यक्रम सफल भएको स्मरण गर्दै स्वागत मन्तब्य मार्फत सबै अतिथिहरुलाई स्वागत गरेकी थिइन् भने एनआरएनएका उपाध्यक्ष मन केसीले कार्यक्रमको बारेमा विस्तृत जानकारी दिदै कार्यक्रम सफल हुने आशा ब्यक्त गरेका थिए । कार्यक्रममा अर्थतन्त्र र स्वास्थ्य गरी दुइ विषयमा प्रस्तुतीहरु भएका छन् । अर्थतन्त्रको विषयमा नेपालका पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेयले एनआरएनएले नेपालको आर्थिक विकासको निम्ती केन्द्रमा राख्न सक्ने मुख्य क्षेत्रहरुको बारेमा प्रस्तुती दिए । उनले हाल नेपालमा पुरोहित अर्थात परम्परागत अर्थतन्त्रबाट ब्यबसायिक अर्थतन्त्रको चरण शुरु भएको भन्दै एनआरएनहरुलाइ पनि जागिर भन्दा पनि ब्यबसायिक बन्न सुझाव दिए ।
उनले नेपालीहरुमात्र नभएर विदेशकै नागरिकहरु सँग साझेदारी गरेर व्यवसाय गर्न र उनीहरु सँगबाट पनि अनुभवहरु सिकेर नेपालमा ब्यबसायिक यात्रा सुरु गर्न आग्रह गरे । कोरोनाको कारण नेपालको अर्थतन्त्र निकै प्रभावित भएको भन्दै उनले अब गैरआवासीय नेपालीहरुले लगानीको प्राथमिकता कृषि, होटल पर्यटन र रेष्टुरेन्ट, ज्ञानको उद्योग, इलेक्ट्रिक गाडी लगायतका क्षेत्र हुनुपर्ने बताए ।
नेपाली काँगेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले एनआरएनएने नेपालमा गर्न सक्ने लगानीको विषयमा नीतिगत व्यवस्थाका विषयमा प्रस्तुती दिए ।
नेपालमा लगानीको क्षेत्रहरु ठुलो भएको भन्दै भन्दै सूचना तथा प्रविधि, कृषि, को क्षेत्रलाइ प्राथमिकता दिन सकिने बताए । त्यस्तै कृषि मन्त्रालयका सहसचिब डा. हरि केसीले कोराना भाइरसले खाद्य सुरक्षामा पारेको असर, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले कोरोनाभाइरस महामारीले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र यसपछिको कार्यभार, मेघा बैंकका अध्यक्ष भोज बहादुर शाहले कोरोना महामारीको कारण बैंक क्षेत्रमा पारेको प्रभाव, न्युजिल्याण्डका अनुसन्धान वैज्ञानिक डा. कमल अधिकारीले कोभिड १९ महामारी पछिको अर्थतन्त्रको पुनरोत्थानका उपायहरु, अर्थशास्त्री डा. कृष्ण हमालले कोभिडले अष्ट्रेलियाको अर्थतन्त्रमा पारेको प्रभाव र यहाँ स्थित नेपालीमा परेको असरको बारेमा स्लाइडहरु प्रस्तुत गरे । डा. राजु अधिकारीको संयोजकत्वमा अवैतनिक दूत द्धोय दिपक खड्का, चन्द्र योञ्जन, दुर्गा आचार्य, होममुर्ति पन्त, बसुन्धारा भट्टराइ, धर्मराज अधिकारी, दिनेश राज जोशी र गणेश केसी सदस्य रहने गरी प्यानलिस्टको भुमिका निभाएका थिए । त्यसैगरी हेल्थ अर्थात स्वास्थ्य क्षेत्रसँग सम्बन्धमा रहेर त्रिभुवन विश्वविद्यालयका प्रयोग विज्ञान तथा अनुसन्धान केन्द्रका निर्देशक डा. रामेश्वर अधिकारीले ब्यक्तिगत सुरक्षाका सामग्री, अल्फा एग्रो प्रालिका प्रमुख वैज्ञानिक अधिकारी कविता कंडेल र समिरण सुवेदीले कोरोना महामारीको औषधी, अष्ट्रेलियाको अल्मडाका अर्थाेपेडिक सर्जन डा. कुश श्रेष्ठले एनआरएनएको स्वास्थ्य समितिले कोभिड १९ महामारीमा लिएको पहलकदमी, सेन्ट्र वेस्ट क्यान्सर केयर, अरेन्ज अस्पतालका निर्देशक डा. डिल्ली बञ्जाडेले कोरोना महामारीको समयमा स्वास्थ्य क्षेत्रमा लिन सकिने निर्णयहरु, नेपाल महिला कमिशनका सिनियर केस म्यानेजर विमला खड्काले्् कोभिड महामारी पछिको महिला स्वास्थ्य तथा कल्याण ब्यबस्थापन, मानसिक स्वास्थ्य मुद्धाका जानकारी जनस्वास्थ्य विद भरत नेपालले अष्ट्रेलियाका नेपाली समुदायमा हालको समयमा मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान मुल्याङ्कनको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
प्यानलिस्टको रुपमा भोमा लिम्बु संयोजक रहने गरी अवैतनिक राजदूत दिपक धमाला, दिपक शर्मा, सन्तोष कुवँर, डा. चन्द्र प्रकाश पोखरेल, एलेक्स कार्की, बबिता श्रेष्ठ, डा. मम विश्वकर्मा र नीरज श्रेष्ठले भुमिका निभाएका थिए । 
ओसनिया क्षेत्रीय संयोजक होम पाण्डेयले ओसनिया क्षेत्रीय ज्ञान सम्मेलनकोे बारेमा विवरणहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा एनआरएनएका प्रवक्ता नन्द गुरुङ, न्यु साउथ वेल्स राज्य परिषद संयोजक देब गुरुङ, न्युजिल्याण्डका अध्यक्ष लाल केसी लगायत संस्थाका पदाधिकारीहरु, पुर्व पदाधिकारीहरु, समाजसेवी, बुद्धिजिवि, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो । आर्थिक विषयको प्रस्तुतीकरण कार्यक्रमको सञ्चालन आइसीसी सदस्य विनोद श्रेष्ठले गरेका हुन भने स्वास्थ्यको कार्यक्रम अशोक केसीले सञ्चालन गरेका थिए ।कार्यक्रमको समापन गर्दै ओसनिया क्षेत्रीय होम पाण्डेले सम्मेलन सफल भएको भन्दै एक हप्ता भित्र यस कार्यक्रमको घोषणापत्र जारी गरिने बताए । सम्मेलनमा आर्थिक र स्वास्थ्य क्षेत्रमा विज्ञहरुले दिएका प्रस्तुतीहरुलाइ एकमुष्ठ गरि नेपाल सरकारलाइ हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ ।






