लन्डन । गैर आवासीय नेपाली सघं (एनआरएनए) युकेले नेपालका पूर्व मन्त्रीहरु एवम् सासंदहरुबीच विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गोर्खा मुद्दा र नागरिकता विषयमा बेलायत भ्रमणमा रहेका पूर्वमन्त्री र सांसदहरुसंग बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
शुक्रबार अल्डरसटस्थित एनआरएनएको आफ्नै कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्रीहरु डा. मिनेन्द्र रिजाल र डा.सुरेन्द्र पाण्डे तथा सांसदहरु प्रमिला राई, जयकुमार राई सहभागी थिए । अन्तरक्रिया कार्यक्रममा पूर्व मन्त्रीहरु एवम् सासंदहरु गोर्खा मुद्धा र नागरिकताको विषय समाधानका लागि प्रतिबद्ध भएको जनाएका छन् ।
भूतपूर्व गोर्खा मुद्दा र एनआरएनए नागरिकता विषयमा छलफल गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा उनीहरुले प्रवासमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्काउने वातावरण मिलाउन, उनीहरुलाई आवश्यक सुविधा दिन र गोर्खा मुद्दा समाधानमा दत्तचित्त भएर लाग्ने आश्वासन दिए ।
कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भूतपूर्व गोर्खा मुद्दामा नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पटकपटक पहल गरेको र प्रतिबद्धता समेत जनाएकाले लामो समय देखि नटुगिंएको यस विषयलाई गम्भीर रुपमा टुंग्याउनुपर्ने बताए ।
डा. रिजालले नागरिकता विधेयक संसदमा प्रस्तुत भइसकेकाले त्यो पारित हुनेमा ढुक्क हुन आग्रह गरे । ‘हामीले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार रहने भनेर संविधानमा लेख्यौं तर कानून नियमले संकुचित गर्न खोज्यौं’- उनले भने, ‘केही साथीहरु संविधानमा लेखिएका कुरा अहिले तलमाथि गर्न खोजेर विधेयक अड्किइरहेको छ ।’
कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गोर्खा मुद्दामा ऐक्यवद्धता जनाउंदै आफूहरु नेपाल फर्किएर परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटी यसबारे थप झकझकाउने आश्वासन दिए । पाण्डेले नेपालको संविधानले प्रदत्त गरेको गैर आवासीय नागरिकता दिने सवालमा खास समस्या नभएको तर वंशजको नागरिकता दिन्छौं भन्न नसकिने बताए । उनले एनआरएनए नागरिकता विधेयक पारित हुने बताए ।
कार्यक्रमका सभापति तथा एनआरएनए यूके प्रेम गाहामगरले नेताहरुसंग भूतपूर्व गोर्खा मुद्दा समाधानमा पहल र संसदमा विचाराधिन गैर आवासीय नेपाली नागरिकता विधेयक पारित गर्न पहलका लागि जोड दिए ।
एनआरएनए यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा सांसदहरु पदम गिरी, जयकुमार राई, श्याम श्रेष्ठ, रामबाबु यादव, प्रमिला राई, एनआरएनए यूके प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व महासचिव आरके त्रिपाठी, भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई लगायतले पनि बोलेका थिए । तस्बिर- मिलन तमु
एनआरएनए यूकेले राखेको वरिष्ठ नेताहरु सहभागी अन्तरक्रियामा कसले के भने भिडियो हेर्नुस :






