सेन्ट्रल कोष्ट नेप्लिज कम्युनिटीको नयाँ वर्ष रमाईलो भेटघाट कार्यक्रम सम्पन्न

सिड्नी । सेन्ट्रल कोष्ट नेप्लिज कम्युनिटी अस्ट्रेलियाले नयाँ वर्ष रमाईलो भेटघाट तथा नेपाली सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्युनिटीले प्रत्येक वर्ष आयोजना गर्दै आईरहेको कार्यक्रम कोरोना महामारीका कारण विगतका केही वर्ष हुन सकेको थिएन । यसवर्ष ढिलै भएपनि कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको कम्युनिटीले जनाएको छ ।

नयाँ पिडिहरुलाई नेपाली कला संस्कृति तथा भेषभुषाको बारेमा जानकारी गराउँदै सहभागी गराउने तथा नयाँ वर्षको शुभकामना आदानप्रदान सहित रमाईलो गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कम्युनिटीका अध्यक्ष देवि पौडेलले जानकारी दिए ।

कार्यक्रम अवसरमा अध्यक्ष पौडेलले कम्युनिटीले गरेका कार्यहरुको बारेमा जानकारी दिँदै कोभिड सक्रंमणको बेलामा डि डी फाउण्डेसनलले सिन्धुली सुनकोशी सामुदायिक  अस्पताललाई अक्सिजन प्लान्ट राख्नको लागी गरेको पहलमा सहकार्य गर्नुकासाथै एनआरएनएको अक्सिजन सिलिण्डर उपलब्ध गराउने पनि सहयोग गरेको जानकारी दिए । उनले नयाँ नेपाली पिडिलाई नेपाली भाषाबारे जानकारी दिन निकट भविष्यमा नेपाली भाषा पाठशाला कक्षा सञ्चालन गर्न लागिएको समेत बताए । कम्युनिटीले नेपाली महत्वपूण चाडपर्वहरुमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ भने कम्युनिटीको विकासका लागि सकर क्लव र क्रिकेट क्लवको समेत गठन गरेको छ ।

१८ जुन शनिबार सम्पन्न कार्यक्रममा एनआएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै गुरुङले आफुले हरेक वर्ष आयोजना हुने कार्यक्रममा आफु सहभागी भएको भन्दै यस्ता कार्यक्रमले कम्युनिटीलाई एकताबद्ध बनाउन सहयोग गरेको बताए । उनले कम्युनिटीले गरेका कामहरुको प्रशसां गर्दै आफु कम्युनिटीको सहयोगका लागि सधैव प्रतिबद्ध रहने बताए ।

कार्यक्रममा नेपाली कला साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत, डी डी  फाउण्डेसनका अध्यक्ष जेअन पेयर,समुदायका सदस्यहरु लगायत झण्डै २ सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको विश  रियल स्टेट र एक्टिभ मोर्टगेज एण्ड फाइनान्सले प्रायोजन गरेका थिए ।

२०१५ बाट सुरु भएको कम्युनिटी २०१८ सालमा आधिकारीक रुपमा दर्ता भएको हो । संस्थाले गृह देश नेपालका विभिन्न परोपकारी एवम् सामाजिक कार्यहरुमा सहयोग एवम् सहकार्य गर्दै आईरहेको छ । कार्यक्रमको सञ्चालन समाजका सचिव सन्तोष तिमल्सिनाले गरेका थिए ।