सिड्नी । नेपाली हिन्दू समाज अष्ट्रेलियाले हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर तिज महोत्सव २०२३ गर्ने भएको छ । सदाका वर्षहरुमा जस्तै यसवर्ष पनि समाजले यही सेप्टेम्बर १८ तारिख सोमबार बरउड पार्कमा तीज महोत्सव सगैं अन्य पुजाआजाको कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा शिव पुजासगैं, नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको सागींतिक प्रस्तुती र अन्य विविध रमाईलो तथा मनोरञ्जनात्मक कार्यक्रम रहने समाजकी अध्यक्ष लक्ष्मी बास्ताकोटीले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिईन् ।
धार्मिक र सांस्कृतिक कार्यक्रम गरी २ चरणमा कार्यक्रम हुनेछ । तीजमा ब्रत बसेका दिदी बहिनीहरुका लागि पुरोहितद्धारा शिव पुजा तथा सन्ध्या आरती समेत सञ्चालन हुने उनले बताईन् । बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने कार्यक्रममा चर्चित नेपाली लोक गायिका कोमल वली र नायिका एवम् गायिका गौरी मल्लको तीज विशेष प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम प्रबन्धक उशा किरन बारीयाले जानकारी दिईन् । त्यस्तै स्थानीय कलाकारहरुको गायन तथा नृत्य लगायतका अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत रहने समाजले जनाएको छ ।
कार्यक्रमको तैयारी अन्तिम चरणमा रहेको भन्दै अध्यक्ष बास्ताकोटीले सबै नेपाली दिदी बहिनीहरुलाई पुजा गर्ने व्यवस्था संगै अन्य रमाईला कार्यक्रमहरुमा सहभागी हुँदै नेपालमै रहेको अनुभुत दिलाउने आफुहरुको प्रयास रहेको भन्दै अनिवार्य रुपमा कार्यक्रममा उपस्थित हुन अनुरोध गरिन् । कार्यक्रमका लागि गैर आवासीय नेपाली सघं एनआरएनए अस्ट्रेलिया र नारी निकुञ्ज अस्ट्रेलियाले सपोर्ट गरेका छन् भने अस्ट्रेलिया स्थित दर्जनौँ व्यवसायिक संस्थाहरुले प्रायोजन गरेका छन् ।






