बार्यन मुनिखलाई छैटौ पटक च्याम्पियन्स लिगको उपाधि ।

लिस्बोन,

जर्मन क्लब बायर्न म्युनिखले युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १–० गोलले हराउँदै बायर्नले उपाधि जितेको हो ।

पोर्चुगलको राजधानी लिस्बोनमा रहेको स्टाडियो दि लुजमा भएको खेलमा बायर्नलाई जिताउन किंग्स्ले कोमानले ५९ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल भयो । कोमानले जोशौ किम्मिचको पासमा गोल गरेका थिए।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टं बाट गोल हुन सकेन । १९औं मिनेटमा एम्बाप्पेको पासमा नेयमारले गरेको प्रहार बायर्नका गोलरक्षक म्यानुयल नुयरले उत्कृष्ट तरिकाले बचाएका थिए ।

बायर्नका लागि लेवान्डोस्कीले खेलको २१औं मिनेटमा गोल गर्ने मौका गुमाएक थिए । उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो । खेलको ३२औं मिनेटमा लेवान्डोस्कीको प्रहार नाभासले ब्लक गरेका थिए । ग्नाब्रीको प्रहारलाई लेवान्डोस्कीले गोलको दिशा दिन खोजेका थिए । तर, नाभासले बल पुस गर्दै उनको प्रयास बिफल बनाइदिए ।

यस्तै खेलको ४४ औं मिनेटमा एम्बाप्पेको बल नुयरले उत्कृष्ट बचाउ गरेका थिए । खेलमा दुवै टोलीका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

तर, ५९औं मिनेटमा कोमानले पीएसजीका गाेलरक्षक केयलर नाभासलाई कमजाेर तुल्याउँदै गोल गरे ।यसअघि बायर्नले सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ च्याम्पियन्स लिगकाे उपाधि जितेको थियो । त्यसबाहेक ऊ छ पटक फाइनल  पुगेर उपाधिविहीन बनेको थियो ।

बायर्न यस सिजनकाे च्याम्पियन्स लिगमा अपराजित रहँदै युराेपियन च्याम्पियन बनेकाे छ । तेस्तै , पहिलोपल्ट फाइनल पुगेको पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्न असफल रह्यो । यस्तै पीएसजीकाे सिजनको चाैथाे उपाधि जित्ने सपना अधुरै रह्याे ।