लन्डनको पशुपतिनाथ मन्दिरमा मनाइयो हरितालिका तिज :१६ तस्बिरमा हेरौं

लन्डन ।  साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा गत शुक्रबार तीज विशेष पूजाआजा कार्यक्रम गरी स्थानिय नेपाली महिला दिदीवहिनीहरुले मनाएका छन् ।कोभिड १९ को डर त्रासका बीच पशुपतिनाथ मन्दिरमा सामाजिक दुरी कायम गर्दै नेपाली महिलाहरुको महान चाड हरितालिका तीज मनाइएको हो ।

मन्दिरका मूलगुरु ज्योतिष पन्डित निलहरि घिमिरेले बिहान १० बजेदेखि नै शुरु भएको पूजाआजा साँझ ६ बजे विशेष आरती गरी समापन भएको थियो।कोरोना महामारीका कारण विगतका वर्षहरुमा दिनभरसम्म चल्ने नाचगान यसपटक नभएपनि व्रतालु महिलाहरुले मन्दिरमा पुगेर पूजाआजा गरेका हुन् ।नेपालीहरुको बाक्लो वस्ती रहेको साउथ इष्ट लन्डनको तिज कार्यक्रममा महिलाहरुले रातो सारी ,चुरा ,पोते ,तिलहरीको साथमा तिज मनाउन आएका थिए।

कोभिड १९ महामारी र बेलायत सरकारको निर्देशिकालाई ध्यानमा राख्दै विभिन्न समय समूहमा बाँडेर मन्दिरमा आउने व्रतालु महिलाहरुलाई पूजाआजामा सहभागी गराइएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कंडेलले महामारीको असहज अवस्थामा पनि व्रतालु महिलाहरुको लागि पूजा आजा सम्म गर्न सक्ने वातावरण मिलाइएको र सकेसम्म धेरै बेर नबस्नको लागि समेत आग्रह गर्दै मन्दिरको आग्रहलाई मानेर व्रतालु महिलाहरुले पनि एकैपटक भिड नगरी पालैपालो आएर सहयोग पुर्याएको उनले बताए।

यसैगरी पुजाका लागि सहज होस भनेर मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीले मन्दिरमा प्रवेश गर्न र बाहिरिन छुट्टाछुट्टै द्वारको व्यवस्था गरिएको तथा आउने सबै दर्शनार्थीको नाम र सम्पर्क नम्बर राखिएको बताउदै कार्यक्रममा सहभागी भक्तजन, कार्यक्रम व्यवस्थापनमा खटिने कार्यसमितिका पदाधिकारीहरु, ट्रष्टी बोर्डका सदस्यहरु लगायत सबैमा मन्दिर व्यवस्थापन समितिको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् ।

कोभिड महामारीका कारण मन्दिरमा उपस्थित हुन नसक्ने महिलाहरुका लागि पूजाआजा कार्यक्रमको स्थलगत लाइभ प्रसारण लन्डन नेपाल न्यूज मार्फत गरिएको थियो। मन्दिरमा आउने व्रतालुहरुलाई पानी, फलफूल, चिया, प्रसादको व्यवस्था थियो ।

तस्बिरमा हेरौं