काठमाडौं– सत्तारुढ दलका नेताहरुले राष्ट्रिय जनता पार्टी नेपाल समक्ष निराशा व्यक्त गरेको छ । एमाले र राप्रपासँग छलफल गरी साँझमा राजपा नेपालसँग गरेको वार्तामा सत्तारुढ दलका नेताहरु निकै निराश देखिएका थिए ।
साना दलहरुलाई मिलाएर सविधान संशोधन गर्ने योजना थियो तर राप्रपालेबीचैमा धोका दिएको कारण सविधान संशोधन विधेयक पारित गराउन समस्या भइरहेको कुरा सत्तारुढ दलले राखेको बताइन्छ । एमालेसँग पनि कुरा गर्दा चुनावअघि सविधान संशोधन हुन नसक्ने बताएको छ, यस अवस्थामा सविधान संशोधन विधेयक कसरी पास हुन्छ भनि प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको राजपा नेपालका एक नेताले बताए ।
‘विधेयक टेबल गरेर सिधै त्यसमा मतदान गराएमा पारित नहुने खतारा, पारित गराउनका लागि दलहरुकोबीचमा सहमति बन्न सकिरहेको छैन, यस अवस्थामा के गर्ने भनि कुरा राखेपछि राजपा नेपालका नेताहरुले एमालेले सविधान संशोधनमा सहयोग गर्देनन् भने कुरा पहिलादेखि नै थाहा भएको कुरा हो ।’ राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने । यद्यपी प्रयास जारी राख्नुपर्ने धारणा राखेको उनले बताए ।
सविधान संशोधनका लागि दलहरुसँग एकसाता अझै छलफल जारी राख्ने सहमति गर्दै बैठक सकिएको छ । सत्तारुढ दलले मंगलबार नै एमालेसँग छलफल गरेको थियो । सो छलफलमा एमालेले सविधान संशोधनमा सहयोग नगर्ने स्पष्ट पारिसकेको छ भने यसअघि राप्रपासँग पनि छलफल गर्दा त्यस्तै जवाफ पाएको छ ।
मंगलबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवाको आब्हानमा बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा संयोजक महन्त ठाकुर लगायतका शीर्ष नेताहरु सहभागी थिए ।






