चुनावको समीक्षा गर्न माओवादी हेडक्वाटरले बोलायो विस्तारित बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको समिक्षा गर्न आगामी साउन २ गते पार्टी सचिवालयको विस्तारित बैठक बोलाएको छ । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समिक्षा गर्न आगामी साउन २ गते पार्टी सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो ।

निर्वाचनको समिक्षा गर्न पार्टी जिल्ला इन्जार्चहरुसहितको सहभागितामा सचिवालयको बैठक बोलाउने निर्णय गरिएको पार्टीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।

बैठकमा नेताहरुले संगठनात्मक अस्तव्यस्तताको कारण पनि पार्टीले अपेक्षा गरे अनुसार स्थानीय तह दोस्रो चरणको निर्वाचनको परिणाम आउन नसकेको बताएका थिए । माओवादी केन्द्रले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नल्याए पनि स्थानीय तह निर्वाचनमा पार्टीको एजेन्डाको जीत भएको दावी भने गर्दै आएको छ ।

माओवादी केन्द्रले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनतामा लैजान नसक्दा पनि दोस्रो चरणको निर्वाचनमा अपेक्षा गरे अनुसार जीत हासिल गर्न नसकेको पनि जनाएको छ । नेकपा माओवादी केन्द्रले अव हुने तेस्रो चरणको निर्वाचनमा भने पहिलो शक्ति बनाउने गरी पार्टी संगठनलाई सुदृढ ढंगले परिचालन गर्ने तयारी पनि गरेको छ ।