काठमाण्डौ । २२औं पटकमा लोकसेवाको परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृत बनेका कञ्चनराज गिरी स्थानीय तहको निर्वाचनमा पराजित भए ।
सरकारी जागिरबाट राजीनामा दिएर उनले बनेपा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका टिए । लोकसेवाको परीक्षाजस्तै राजनीतिको उनको पहिलो परीक्षामा पनि उनले असफलता व्यहोर्नु पर्यो ।
सरकारी जागिर छाडेर राजनीतिमा लागेको भनेका गिरीले अहिले फेरि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अधिकृतमा नाम निकालेका छन् ।
विद्युत प्राधिकरणमा अन्तर्वार्ता दिएकै दिन उनले प्रतिष्ठानमा लिखित परीक्षा दिएका थिए । प्राधिकरणमा नाम निस्किएला भन्ने उनले सोचेका थिएनन् । अब उनी फेरि सरकारी जागिर खान जाँदै छन् ।
‘जिविकोपार्जनको लागि केही न केही गर्नुपर्छ,’ उनले भने, ‘त्यसमाथि यो मैले खान पाउने अन्तिम सरकारी जागिर पनि हो। उमेरको हकबन्दीका कारण पछि चाहेर पनि खान पाउँदिनँ । यसबाट पनि अनुभव बटुल्न चाहन्छु ।’
अहिलेको राजनीतिक स्थिति बदल्न काम गर्ने नयाँ पुस्ता नेत्तृत्वमा आउनै पर्ने उनको भनाइ छ । ‘राजनीतिमा पुरानै दल र पुरानै सोचका मान्छे आए देश बदलिने छैन’, उनले भने, ‘देश बदल्ने हो भने हामी आफैं अघि सर्नुपर्छ ।’






