शिव भण्डारी
लण्डन ।
लन्डन आउन ठिक्क परेका साहित्यकार तथा नेकपा एमाले नेता प्रदीप नेपाललाई बेलायत सरकारले भिजा नदिएपछि अहिले विभिन्न टिकाटिप्पणी शुरु भएका छन् । भिसा रिफ्यूज हुने वित्तिकै नेपाल आफूले त फेसबुकमार्फत बेलायतले भिजा नदिएको जनाउंदै अब जिन्दगीभर यूके नजाने आक्रोश पोखे ।![Pradip-nepal[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/Pradip-nepal1-300x219.jpg)
नेपालको आक्रोश आफ्ना लागि केही हदसम्म जायजै होला तर मुलुक विनाशकारी भूकम्पले तहसनहस भइरहेका बेला उनी बेलायत घुमघाममा आउन उपयुक्त थिएन भन्ने आवाज बढि मुखरित भएको छ । उनी यूके होइन, बरु भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोक, गोरखा वा अन्य कुनै जिल्लामा गएर पुनर्निमाणको नेतृत्व गर्न लाग्नु पथ्र्यो भन्नेहरुको जमात बढेको छ । कुनै बेला देश विध्वंश गर्न तल्लिन माओवादी आवद्ध पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रचण्डहरु त गल, बेल्चा बोकेर पुनर्निमाणमा जुटेका बेला नेता नेपाल चाहिं लन्डन घुम्न र भाषण गर्न आवश्यक नरहेको आफ्नै कतिपय कार्यकर्ताको टिप्पणी छ ।
पटक पटक बेलायत र अन्य विदेश भ्रमण गरेका नेपाललाई बेलायतले किन भिजा दिएन ? धेरै अड्कल काटिएका छन् । कतिले उनको रुखो स्वभाव र बेलायतप्रति नकारात्मक धारणाले गर्दा हो भन्ने बुझेका छन् भने कतिले उनकै दलका गृहमन्त्री वामदेव गौतमको सरकारले राहतका लागि गएका तीन बेलायती चिनुक हेलिकप्टरलाई नेपाल उड्न अनुमति नदिएर बेलायतले त्यसैको रिस पोखेको भन्ने टिप्पणी समेत भएको छ ।
नेपालले भिजा नपाउंदा उनको प्रमुख आतिथ्यमा लण्डनमा हुन लागेको एक साहित्यिक कार्यक्रम स्थगित भएको छ । अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठानले लण्डनमा डायस्पोरामा पारिजात विषयक गोष्ठी र पुरस्कार वितरणका लागि नेपाललाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो । नेपालले भिसा नपाएपछि कार्यक्रम स्थगित गरिएको जानकारी प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यले दिएका छन् ।
उनले विहीबार एक विज्ञप्ति जारी गर्दै साहित्यकार नेपाललाई भिसा नदिँदा नेपाली डायस्पोरा विकासको प्रयासमा अपूरणीय क्षति भएको ठहर गरेका छन् । विज्ञप्तिमा नेपालजस्ता साहित्यकारलाई बिना रोकटोक भिसा दिन पनि बेलायतसित आग्रह गरिएको छ ।






