भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी भइरहेको छ ।
वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन जेठ २ गते व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना छ । परीक्षण उडान भने वैशाख १ गते नेपाल वायुसेवा निगमले गर्नेछ ।
‘क्यालिब्रेसन’ उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । फागुन पहिलो साता भएको ‘क्यालिब्रेसन’ उडानको अन्तिम प्रतिवेदन ४२ दिनमा आउने बताइएको छ । बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सिधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ ।
यो विमानस्थलबाट उडान गर्न सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न पाँच मुलुकका ११ भन्दा बढी कम्पनीले चासो देखाएका छन् । ती विमान सेवा कम्पनीमा नेपाली ध्वजावाहक नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिच र ओमन एयर रहेका छन् ।
व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले पहिलो पटक हप्ताको सातै दिन उडान गर्नेछ । प्राधिकरणका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको हो ।






