नयाँदिल्ली- प्रधानमन्त्री केपी ओलीलाई नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले स्वागत गरेकी छन् । नेपालका प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा प्रायः राज्यमन्त्रीले स्वागत गर्ने परम्परा रहे पनि ओलीलाई भने विदेशमन्त्री स्वराजले स्वागत गरेकी हुन् ।
६२\६३को आन्दोलन पछि भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भने भारतीय समकक्षी मनमोहन सिंहले स्वागत गरेका थिए । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईलाई त उपसचिवले सम्मान गरेका थिए ।
प्रधानमन्त्री ओली शुक्रबार अपरान्ह ४६ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्रीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी छन् ।
यसैबिच, नेपालको ६६ औँ प्रजातन्त्र दिवसका अवसरमा भारतस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ राजदूतावासमा आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी भए । सो अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिमण्डलको स्वागत गरेका थिए ।
मुरलीमोहन जोशी, करण सिंह लगायत भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका लागि भारतीय राजदूत रणजीत राय, विभिन्न मुलुकका कूटनीतिक नियोगका पदाधिकारी, नेपाल र भारतका बुद्धिजीवी, उद्योगी–व्यवसायी र प्रवासी नेपाली लगायत समारोहमा सहभागिता थिए ।
ओली फागुन १२ गते स्वेदश फर्कने कार्यक्रम छ ।







