नेपालको अर्थतन्त्र सकंटग्रस्त अवस्थामा : विलासी वस्तुको आयात रोकिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ ।

नियामक राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुलाई बोलाएर एलसीमा कडाई गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकका अधिकारीका अनुसार सोमबार बैंकलाई बोलाएर डलरको सञ्चिति घटेका कारण आयात निरुत्साहित गर्ने बाहेक अन्य विकल्प नरहेकाले देशको अर्थतन्त्र जोगाउन बैंकर्सलाई छलफलका लागि बोलाइएको हो ।

राष्ट्र बैंकको यो निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ । बैंकहरूलाई एलसी नखोल्न राष्ट्र बैङ्कले कडा निर्देशन पनि दिएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो ।

अहिले गाडीको अत्यधिक माग रहेको छ भने विद्युतीय गाडीका लागि ६ महिनासम्म पर्खिनुपर्ने अवस्था छ । राष्ट्र बैंकका अधिकारीहरूले सो छलफलमा चालु आर्थिक वर्षको यो अवधिमा ७० अर्ब बढीको गाडी तथा पाट पुर्जा आयात भएका छन् । एकातिर सुपारी लगायत तस्करीजन्य वस्तुको आयात खुलाउने र अर्कोतिर अत्यावश्यक वस्तुबाहेकको आयातका लागि एलसी खोल्न रोक लगाउने कुरा नमिलेको बैंकहरूको भनाइ छ ।