काठमाडौँ- लामो रस्साकस्सीपछि नेपाली काँग्रेसमा केन्द्रीय पदाधिकारीमा सहमति भएको छ । पछिल्लो सहमतिसँगै आजै काँग्रेसको प्रस्तावित विधान महासमिति बैठकमा प्रस्तुत गरिने भएको छ । अबदेखि काँग्रेसका केन्द्रीय पदाधिकारीको सङ्ख्या १४ जनाको हुने भएको छ ।
नेताहरुबीच भएको सहमति अनुसार १ सभापति, उपसभापति २, महामन्त्री २ सहमहामन्त्री ७ र कोषाध्यक्ष तथा प्रवक्ता एकएक गरी १४ जना हुने भएका छन् ।
कोषाध्यक्ष र प्रवक्ता केन्द्रीय समितिबाट निर्वाचित भएकालाई मनोनित गर्ने पनि सहमति भएको छ ।
बाँकी सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु निर्वाचनबाटै निर्वाचित हुनुपर्नेछ भने सहमहामन्त्री समाबेशीताको आधारमा निर्वाचित हुने व्यवस्था गरिएको छ ।
विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा विधान मस्यौदा प्रस्ताव लैजानेछ । यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २–२ बनाउने शीर्ष तहमा सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि महासमिति बैठक नै अनिश्चित भएको थियो ।






