काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
विगत केही दिनयता पोखरमा बस्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाह र अध्यक्ष थापाबीच शुक्रबार बिहान नौ बजेदेखि सवा दश बजेसम्म भेटवार्ता भएको राप्रपाका नेता राजाराम वर्तोलाले जानकारी दिए ।
शाह र थापाबीच पोखराको माउन्ट ग्लोरी रिर्सोटमा भेटवार्ता भएको हो । स्रोतका अनुसार भेटमा पूर्व राजा शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र घटनाक्रमहरुका बारेमा अध्यक्ष थापासँग चासो राखेका थिए ।
त्यस्तै उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीचको एकता प्रयासका बारेमा भइरहेको प्रगतिबारे समेत सोधेका थिए ।
‘उहाँहरु बीच ब्रेकफस्टसँगै लामो कुराकानी भएको थियो । जसमा हिन्दु राष्ट्रको प्रसङ्ग, धर्म परिवर्तनको चर्चा र पार्टीहरुका गतिविधिप्रति कुराकानी भएको छ,’ स्रोतले बतायो ।
भेटपछि अध्यक्ष थापाले भने, ‘प्रशिक्षण कार्यक्रममा भाग लिन पोखरामा आएका बेला पोखरामै निजी भ्रमणमा रहिबक्सेका राजा ज्ञानेन्द्रसँग शिष्टाचार भेटगर्ने अवसर प्राप्त भयो । मुलुकको बिग्रदो अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएंँ ।’
थापा र शाहबीचको यो भेटवार्ता राजनीतिक रुपमा अर्थपूर्ण रहेको छ ।
केही दिनअघि पूर्व राजा शाह आफ्नो ज्वाइँको जन्मोत्सव मनाउने क्रममा काठमाडौँको दरवारमार्गमा आफन्तहरुसँग नाचेका तस्विरहरु सार्वजनिक भएका थिए ।






