काठमाडौं । टेलिभिजनमा कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेका छन् । न्युज २४ का अर्का पत्रकार युवराज कँडेल र गलफ्रेण्ड भनेर चिनाइएकी अस्मिता (रुकु) कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । लामिछाने र युवराजलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।
ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ । नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो। कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ।
स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए। रविसहितको समूहको नियन्त्रणमा रहेकी अस्मितासँग लाइभ अन्तरवार्ताको तयारी गर्दा गर्दै प्रहरीले पक्राउ गरी लगेको हो। महिला प्रहरीसहितको टोलीले उनलाई पक्राउ गरेर चितवन लगिसकेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्।
‘हाम्रो अनुसन्धान अघि बढिसकेको छ, पुडासैनीले नाम लिएका तीनैजना पक्राउ पर्छन्, यसमा कुनै सन्देह छैन’, मल्लले भने, ‘पुडासैनीको मोबाइल र त्यसमा रहेका अडियो भिडियो ल्याव परीक्षणपछि बिहीबारै चितवन पुगेपछि अनुसन्धानले अझै तीव्रता पाउँछ। हामी यसमा कुनै कमजोरी नगरी अनुसन्धान गर्छौँ। कसैको दबाब या प्रभाव परेर प्रहरीले कारवाही रोक्दैन।’ आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए।






