काठमाडौ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारको बचाऊ गरेका छन् । गत शनिबारदेखि जारी पार्टी स्थायी समितिको शुक्रबारको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै संसदीय दलका उपनेता नेम्वाङले सरकारको काम कार्वाहीप्रति आफू सन्तुष्ट रहेको बताएका हुन् ।
सरकारको काम कार्वाहीलाई लिएर धेरैजसो नेताहरुले असन्तुष्टि जनाईरहेका बेला उपनेता नेम्वाङले सरकारले ‘धेरै महत्वपूर्ण’ काम गरेको दावी गर्दै त्यसको प्रचार जनस्तरमा पुर्याउन पार्टीका नेताहरुलाई आग्रह गरे । उनले पार्टी एकताको सन्देश स्थानीय तहमा पुर्याउन ढिलाई गर्न नहुनेमा जोड दिँदै उपनेता नेम्वाङले विवादास्पद ‘एसिया प्यासिफिक सम्मेलन’को पत्रमा सरकार र संघीय संसदको लोगो प्रयोग गरेकोमा भने असन्तुष्टि व्यक्त गरे ।
यसअघिको बैठकका नेता भीम रावल लगायतका नेताहरुले सो सम्मेलनमा सहभागी भएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्मआलोचना गर्नुपर्ने माग समेत गरेका थिए ।
शुक्रबारको बैठकमा नेम्वाङलगायत ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा, अमिक शेरचनसहित ७ जना नेताहरुले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । नेकपा स्थायी समितिको बैठक शनिबार पुनः बस्नेछ । शनिबारको बैठकमा नेताहरुको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिने र पर्सी (आईतबार) बस्ने बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्षद्धय ओली र दाहालले दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
गत शनिबारदेखि जारी नेकपा स्थायी समिति बैठकमा पार्टी एकताको सन्देश दिन नसकेको भन्दै पार्टी नेतृृत्वको र जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।






