१५ हजार ३८ जना जनप्रतिनिधि छान्न सुरु भयो निर्वाचन प्रक्रिया

काठमाडौं– तीन प्रदेश १, ५ र ७ मा असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आजबाट निर्वाचनको औपचारिक प्रकृया सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम शुरु भएकेको निार्वचन आयोगले जनाएको छ । यो पटक टुक्रिएको रुकुम र नवलपरासीसहित ३५ जिल्लाका ३३४ स्थानीय तहका जनताले आफ्ना प्रतिनिधि छान्दैछन् । जसमा १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
६४ लाख ३२ हजार मतदाता रहेको तीन प्रदेशमा एक महानगरसहित ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिका रहेका छन् ।
जसअन्र्तगत एकनम्बर प्रदेशमा एक महानगरपालिकासहित दुई उपमहानगर र ४६ वटा नगरपालिकाको निर्वाचन हुदैछ । त्यसैगरी ५ नंम्बर प्रदेशमा ४ उपमहानगरपालिकासहित ३२ वटा नगरपालिका र ७२ गाउँपालिका रहेका छन् भने ७ नम्बर प्रदेशमा १ उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकाका रहेका छन् ।

जसमा राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानको पालना गर्दै यि स्थानीय तहमा बिहानैबाट उम्मेदवारी दर्ता गर्न थालेका छन् । स्थानीय तह निर्वाचन ऐन अनुसार वडातहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यस्तै महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले पनि उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।
उम्मेदवारी दर्ताका लागि आईतबार बिहान ८ देखि अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरेकाले त्यो समयमा उम्मेदवारी दिनसक्ने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।

दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न आयोगले ६६ हजार नौ सय कर्मचारी खटाएको छ । यो निार्वचनका लागि कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएको छ ।