सिड्नी । वैशाख ३० गते नेपालमा हुन गईरहेको स्थानीय तह निर्वाचनका लागि यतिबेला चुनावी अभियान र प्रचारात्मक कार्यक्रम सुरु हुन थालेका छन् ।
चुनाव नजिकिँदै गर्दा सत्तारूढ दल नेपाली कांग्रेसको विदेश स्थित भातृ संस्था जनसम्पर्क समिति अष्ट्रेलियाले चुनावी प्रचार प्रसार तथा चुनाव केन्द्रीत अभियान सञ्चालन गर्ने भएको छ ।
नेपाली काँग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत चुनावी कार्यक्रम गर्न लागिएको महामन्त्री रोहित खड्काले जानकारी दिए । घर-घर जाऊ कांग्रेस जिताउन केन्द्रीय अभियानलाई सफल बनाउन र आगामी निर्वाचनमा काँग्रेसको जित सुनिश्चित गर्न जनसम्पर्क समितिले प्रवासबाटै प्रभावकारी रूपमा प्रचारमा सहभागी हुने उनले बताए ।
“नेपाल र नेपालीको सुन्दर भविष्य, विकाश निर्माण सङ्गै आर्थिक समृद्धि सहितको समुन्नत नेपालका लागि नेपाली कांग्रेसलाई मतदान” भन्ने नाराका साथ प्रवासबाटै चुनावी प्रचारमा सहभागी हुन समितिले सबैमा आह्वान पनि गरेको छ ।
प्रचार अभियान अन्तर्गत जनसम्पर्क समिति अष्ट्रेलियाको मातहतमा रहेका सबै राज्य समिति तथा क्रियाशिल सदस्यहरूलाई आ-आफ्नो घर परिवार र छिमेकमा सञ्चार प्रविधिको प्रयोग गरि नेपाली कांग्रेसलाई मतदान गर्न अपिल गरिने सम्पर्क समितिका अध्यक्ष सुरेश गुरुङले बताए ।
राजनैतिक स्थिरता,सुशासन र विकाश निर्माणकालागि कांग्रेसको विकल्प नरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग मार्फत प्रचारमा जुट्न ज.स.स.अष्ट्रेलियाका नेता शितल गिरिले सबैमा अनुरोध गरेका छन् ।






