प्रतिभा नक्षत्र बेलायतको अध्यक्षमा दोश्रो पटक निर्वाचित सिमी पुन को हुन् ?

लण्डन । सिम्मी पुन प्रतिभा नक्षत्र बेलायतको अध्यक्ष पदमा पुन : चयन भएकी छिन् । संस्थाको दोस्रो महाधिवेशनले सिम्मीकै अघ्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

हाल बेलायतमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल रही सामाजिक अभियान्ताको परिचय बनाएकी नवनिर्वाचित समितिकी अध्यक्ष सिम्मी कुनै समयकी चर्चित मोडल हुन् । उनले केही चर्चित भिडियो तथा विज्ञापनहरुमा मोडलको रुपमा काम गरिसकेकी छिन् । बेलायतमा रहेर पनि उनको कलाकारिता र सामाजिक क्षेत्रको क्रियाशिलता रोकिएको छैन् ।

सम्पन्न अधिवेशले उपाध्यक्षमा द्वय लक्ष्मण गुरुङ, लिलादेवि गुरुङ, महासचिवमा निकोलस अलेखजेन्डर हाडजियानिस, सह महासचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा बिजया दाहाल भण्डारी साथै सदस्यहरुमा सूर्य बिक्रम केसी, मेरिना श्रेष्ठ, राजेन्द्र खस, मिली राई, बसन्ती राना, गहेन्द्रमान श्रेष्ठ, दिर्घ केसी, रेशम बस्याल र प्रमोद अधिकारीलाई चयन गरेको छ ।

अन्य रिक्त रहेका पदहरु भने पछि मनोनयन गर्ने बताईएको छ । निर्वाचन समितिका सदस्यहरु हरिकुमार मल्ल, प्रसिद्ध प्रधान र श्रीभक्त खनालले सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीको घोषणा गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बरिष्ठ गायिका मिरा राणा प्रमुख अतिथी र बरिष्ठ गायक किरण प्रधान विशेष अतिथीका रुपमा जुममार्फत सहभागी भएका थिए । सो अवसरमा संस्थाका प्रमुख संरक्षक मनिष कुमार श्रेष्ठले प्रतिभा नक्षत्रको उद्धेश्य तथा संस्थाले गरेका कार्यहरुका बारेमा प्रष्टाएका थिए ।

सन २०१७ देखि बेलायतमा क्रियाशिल नक्षत्रले नेपाली भाषा, मौलिक कला-संस्कृति, साहित्य संगीतको प्रवद्धन गर्न विभिन्न कार्यक्रहरु सञ्चालन गर्दै आइरहेको छ । अब लगत्तै योगा, शारीरिक व्यायाम कार्यक्रम र बालबालिका लक्षित अन्य कार्यक्रम पनि गर्न लागिएको बताईएको छ ।