मगर सघं युकेको नेतृत्व अब महिलाले गर्ने भन्दै अध्यक्षमा सीता पुनको कडा उम्मेदवारी(घोषणा पत्र सहित)

लण्डन । आगामी अप्रिल ९ तारिखमा हुने मगर संघ यूकेको सातौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष सीता पुर्जा पुन मगरले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेकी छिन् ।

फानबरोस्थित ओर्कफार्म स्कुलमा हुने महाधिवेशनका लागि पुर्जा पुनमगरले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनले आफ्नो घोषणा पत्र जारी गर्दै मगर सघं युकेको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा अब आफु सक्षम रहेको बताईन् । त्यस्तै महिलाले नेतृत्व लिने यो ऐतिहासिक अवसर समेत भएको उनको धारणा छ ।

२००२ सालमा स्थापना भएको मगर सघं युकेको हालसम्मको कार्यकालमा अधिकांश नेतृत्व पुरुषहरुले नै लिएका छन् । यसर्थ पनि महिलाहरु नेतृत्वमा आउनुपर्छ भन्ने मान्यता र आफुले उपाध्यक्ष रहँदा निर्वाह गरेका जिम्मेवारीहरुलाई हेरेर अध्यक्षमा उम्मेदवारी दिएको पुनले लण्डन न्यूज नेपालसगं बताईन् ।

उनले घोषणा पत्रमा मगर समुदायको कला संस्कृति र रितिरिवाजलाई जोगाउँदै बेलायतमा रहेका सम्पूणर् मगर समुदायका नेपालीहरुलाई सघंमा आबद्ध गराएर एकताबद्ध गराउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । त्यस्तै मगरसघंको भवन मर्मत संहार गर्ने, मातृभाषको प्रबद्धन र संरक्षण गर्ने, मगर समुदायको अधिकार र हीतमा जोडिएका विषयहरुलाई प्राथमिकताका साथ अगाडी बढाउने र संस्थालाई राजनैतिक हस्तक्षेपबाट टाढा राख्ने उनको घोषणा पत्रमा लेखिएको छ ।

११  वटा बुँदामा लेखिएको उनको घोषणा पत्रमा बेलायतको लागि नेपाली राजदुतावास, स्थानीय निकायहरु र बेलायतमा स्थापित नेपाली संघ-संस्थाहरूसँग राम्रो सम्बन्ध स्थापित कायम गर्दै मगर संघ यूकेलाई बलियो र उच्च स्थानमा राख्ने लेखिएको छ ।

उनले महिलाहरु पनि नेतृत्व तहमा पुग्न सक्षम छन् र उनीहरुलाई पनि अवसर दिनुपर्छ भन्ने मान्यता सहित आफुले उम्मेदवारी दिएकाले बेयालतमा रहेका सम्पूणर् नेपाली मगरबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सहयोग गर्नपनि अनुरोध गरेकी छिन् ।

यस्तो छ ११ बुँदे घोषणापत्र

१. मगर संघ यूकेको संस्थापक कार्यसमिति देखि बर्तमान कार्यसमितिसम्मका कार्यसमितिहरुले संस्थाको हितमा गरेको कार्यहरुलाई निरन्तरता दिनेछु । सो कार्यहरु समयानुसार परिवर्तन गर्नु परेमा मगर संघ यूकेका अग्रज ब्याक्तित्वज्युहरुसँग सल्लाह सुझाब लिएर मात्र परिबर्तन तथा परिमार्जित गर्ने छु ।

२.मगर समुदायको सम्पतिको रुपमा रहेको तिनवटा मातृभाषाहरु, भेषभुषाहरु, संस्कार संस्कृतिहरुलाई समान ब्याबहार, जगेर्ना, सम्वर्द्वन गर्दै नेपाली समाजमा चिनाउने प्रयत्न गर्ने छु ।

३.मगर भित्रको विविधता हाम्रो एकता। मगर जाती एउटा यस्तो जाती हो जो हिमाल पहाड तराइ जताततै फैलिएर बसेको छौ। हामी जुन भूभागमा बसेका छौ ।त्यही अनुसारको संस्कार संस्कृति, परम्परा, रितिथिति, आस्था र बोली चालीको चलन छ। यसर्थ मगर संघ एउटा साझा घर हो । यसमा सबैलाई मिलाएर राख्ने तथा संघमा सहभागिता गराउने पहल गर्ने छु। बेलायतबासी मगर महिला, पुरुष, युवा युवती र बिभिन्न उमेरका व्यक्तिहरुलाई समान अवसर र ब्याबहार गर्दै मगर संघ यूकेमा आबद्ध गराउने पहल गर्ने छु।

४.मगर संघ यूकेको आर्थिक गतिविधिलाई पारदर्शी, चुस्त र दुरुस्त राख्ने छु। मगर संघ यूके अब आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ । आर्थिक आर्जनको लागि मगर भवन मर्मतसम्हार गरी बढी भन्दा बढी आर्थिक आर्जन गरी समाजलाई चन्दा संकलनबाट मुक्त गर्न सम्भव भएसम्म पहल गर्नेछु । मगर भवन Extension गर्ने कार्य सम्पन्न गर्ने छु ।

५.मगर संघ केन्द्रको ट्रष्टी सदस्यता र आजीवन सदस्यता बढाउने प्रयास गर्ने छु। एकल आजीवन सदस्यलाई डबल सदस्य, डबल सदस्यलाई ट्रस्टी सदस्य बनाउने प्रयास गर्ने छु।

६.शाखाहरु केन्द्रको पिलर हो र सबै पिलरहरु बलियो होस् भनी बिशेष ध्यान दिने छु। केन्द्रले गर्ने हरेक गतिविधिहरुमा शाखाहरुलाई सहभागी, सहकार्य गर्दै साथमा लिएर जाने छु।

७.आर्थिक समृद्वि र राजनीतिक चेतना – एउटा संस्था समाजमा बस्ने व्यक्तिहरूबाट बनेको हुन्छ । यदी हामी समाजमा बस्ने व्यक्तिहरुले आर्थिक समृद्विमा ध्यान दिने र राजनीतिक ज्ञान बुझ्यो भने संस्था आँफै बलियो हुने हुनाले विज्ञहरूबाट गोष्ठी सेमिनार गराउने छु । तर एउटा जातिय संस्था कुनै पनि राजनीतिक आस्था, धार्मिक आस्था र व्यापारिक लेनदेनबाट भने टाढै बस्ने छु अथवा अलग हुनुपर्छ भन्ने नैतीकतालाई भुल्ने छैन भन्ने प्रतिबद्धता जाहेर गर्दछु ।

८.नेपालमा रहेका गरिब तथा जेहेन्दार मगर बिद्यार्थीहरुको लागि मगर संघ यूकेद्वारा स्थापित Magar Master Degree and Phd Fund लाई चुस्त र दुरुष्ट रुपले अगाडि बढाउने छु । मगरहरुलाई ऊच्च शिक्षाको स्तर उन्नति र चेतना अभिवृद्धि गर्न बृहत रुपमा गाउ-गककाउमा पुराउन पहल गर्ने छु ।
९ बेलायतको लागि नेपाली राजदुतावास, स्थानीय निकायहरु र बेलायतमा स्थापित नेपाली संघ-संस्थाहरूसँग राम्रो सम्बन्ध स्थापित कायम गर्दै मगर संघ यूकेलाई बलियो र उच्च स्थानमा राख्ने प्रयास छु ।
१० साहित्यमा मगरहरूको संलग्नता एकदमै कम भएकोले मगरहरूलाई साहित्यक संघ संस्थामा आबद्ध गराइ साहित्यिक गतिविधिमा लान तथा कलम चलाऊन प्रोत्साहन गर्ने छु ।

११ मगर संघको विधानलाई नेपालीमा पनि उपलव्ध गराउने प्रतिबद्धता जाहेर गर्दछु ।