दाङ। दाङको घोराही उपमहानगरपालिका -८ स्थित शोपा परियारको फुलबारीमा यतिबेला फोटो खिच्ने र भिडियो बनाउनेको भीड लाग्ने गरेको छ । उनले गरेको व्यवसायिक सुर्यमूखी खेतीको सौन्दर्यता नियाल्न र त्यसको अानन्द लिन दैनिक सयौँ मानिस त्यहा पुग्ने गरेका छन् ।

घोराहीको कपासेंबाट जिमकला घर्ती टिकटक बनाउनकै लागि यहाँ आएकी थिइन्। गृहिणी हुन्, यो सूर्यमुखी बारीमा अरूले बनाएका टिकटक देखेरै उनी आएकी हुन्। त्यसपछि दैनिक रुपमा थुप्रै मानिसहरु त्यहाँ पुग्ने गरेका छन् ।
अहिले परियारको बारीमा खिचिएका तस्बिर भिडियो र अन्य दृष्य सामाजिक सञ्जालमा भाईरल बनिरहेका छन् ।
मान्छे धेरै आउन थालेपछि सूर्यमुखी खेतीकी मालिक शोभा चौधरीले यहाँ आएर फोटो खिचेको शुल्क तोकेकी थिइन्। प्रतिव्यक्ति ५० रूपैयाँ शुल्क प्रवेश शुल्क लिने गरेको उनले बताइन्। सूर्यमुखीका कतिपय कोपिला (मुर्झाइ) सुकिसकेका छन् तै मानिसहरू यहाँ आउने र फोटो खिच्ने तथा भिडिओ बनाउन आइरहेकै छन्।

यतिसम्मकी साढे ७ कठ्ठा जति क्षेत्रफलको बारीमा लगाइएको त्यही सूर्यमुखीको फूलबारी हेर्न गत शनिबार मात्रै यहाँ तीन सय २० जना मानिस आएको रेकर्ड छ। त्यो दिन प्रतिव्यक्ति ५० को दरले प्रवेश शुल्क लिँदा १६ हजार रूपैयाँ एकैदिन संकलन भएको चौधरीले बताइन्।

‘हप्ता दिन हुन थाल्यो हामीले प्रवेश शुल्क तोकेको,’ उनले भनिन् ‘आजको बाहेक ६ दिनमा ४३ हजार संकलन भइसकेको छ।
शोभाका अनुसार सुरूमा त्यहाँ स्थानीय युवा ललितको समूह एक दिन पिकनिक खान आएका थिए। उनैले पहिलो पटक सामाजिक सञ्जालमा सूर्यमुखी फुलेको फोटो भिडिओ अपलोड गरेका थिए। त्यो देखेर आसपासका अरू युवायुवती पनि बिस्तारै त्यहाँ फोटो भिडिओ बनाउन आउन थाले।

शोभालाई दोब्बर नाफा भएपछि खुसी नै लागेको छ।
‘तेल पनि ५०/५५ हजार जतिको हुन्थ्यो होला,’ उनले भनिन्, ‘धेरै मानिसहरू आएपछि अब फूलहरू खराब भइसकेको छ अब त्यति हुँदैन होला।’
जे होस् प्रवेश शुल्कबाटै त्यति रकम संकलन भइसकेकोमा भने अब उनलाई कुनै चिन्ता छैन। सर्वसाधारणबाट रकम असुलेको भन्ने गुनासोको आधारमा प्रहरी पुगेर प्रवेश शुल्क नलिन चेतावनी दिएको थियो ।






