काठमाण्डौ । आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत १५ गते बाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसका लागि २२ करोड रकम छुट्याइएको निर्वाचन आयोगले जनाएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा कुल मत खसेको मध्यबाट ४ प्रतिशत मत बदर भएको थियो । अघिल्लो निर्वाचनमा ४ लाख भन्दाबढि मत बदर भएपछि आगामी स्थानीय तहको निर्वाचनमा यसलाई घटाउनेगरि मतदाता शिक्षामा जोड दिएको आयोगले बताएको छ ।
अघिल्लो स्थानीय तहको चुनावमा सङ्खुवासभामा ५० हजार २ सय १५ मतदाताले मत खसालेकामा ५ सय ८२ मत बदर भएको थियो । भने अघिल्लो स्थानीय तहको निर्वाचनमा धादिङबाट १ लाख ५५ हजार ९ सय ८७ मत खस्दा २ हजार ४४ मत बदर भएको थियो ।
एकिन तथ्याङ्क नभएपनि मत बदर गर्नेमा पुरुषको तुलनामा महिला धेरै भएको बताइन्छ । यसपटक महिलालाइ केन्द्रीत गरि मतदाता शिक्षा कार्यक्रम चलाउनुपर्ने धादिङका मैया कट्वालले बताईन् ।
उम्मेद्वारको निर्धारित चिन्ह भन्दा बाहिर छाप लगाएमा, कुनै उम्मेद्वारको चिन्ह नभएको खाली ठाँउमा मत हालेमा, एकभन्दा बढि उम्मेद्वारको चिन्हमा मत दिएमा, निर्वाचन आयोगले तोकेको बाहेक अन्य कुनै मतपत्रमा मत खसालेमा लगायत अन्य कारणले समेत मत बदर हुने गर्दछ ।
आगामी स्थानीय तहको निर्वाचनमा मत बदर सङ्ख्या घटाउन मतदाता शिक्षा कार्यक्रममा जोड दिईएको निर्वाचन आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए ।






