फास्ट ट्रयाकको जिम्मा नेपाली सेनालाई

काठमाडौं– सरकारले राजधानीबाट तराई–मधेस जोड्ने बहुचर्चित द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको छ ।

लामो समयसम्म बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) प्रणालीमा अघि बढाउन गरिएको प्रयास असफल भएपछि सरकारले सेनाको व्यवस्थापनमा द्रुत मार्ग निर्माण अघि बढाउने प्रक्रिया सुरु गर्न लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ९ वर्षदेखि अलमलमा रहेको राष्ट्रिय गौरवको आयोजना द्रुत मार्ग निर्माण अघि बढाउन लागेको हो ।

भौतिक पूर्वाधारले रक्षा मन्त्रालयमार्फत पत्र पठाई ७६ किमि लामो द्रुत मार्ग सेनाको व्यवस्थापनमा अघि बढाउन चाहेको उल्लेख गर्दै निर्माण जिम्मा लिन तयार रहेरनरहेकोबारे जंगी अड्डासित राय मागेको छ । सेनाको सकारात्मक जवाफ आउनासाथ मन्त्रिपरिषदबाट निर्णय गरी जिम्मा दिइनेछ ।

तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारले आईएलएन्डएस कम्पनीलाई द्रुत मार्ग निर्माण गर्न दिने प्रक्रिया नै रद्द गर्दै नेपालले नै फास्ट ट्रयाक बनाउने निण्र्णय गरेको थियो ।