एनआरएनए टोली संसदीय समिति र मन्त्रालयमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षसहितको टोलीले संसदको राज्य व्यवस्था समितिका अध्यक्ष शशी श्रेष्ठ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री भीमप्रसाद ढकालसँग भेट ग-यो । एनआरएनएको नागरिकता विधेयक संसदमा प्रस्तुत हुन किन विलम्ब भयो भन्ने विषयमा जानकारी लिन अध्यक्ष भट्टसहित उपाध्यक्ष कुल आचार्य र एनआरएन नागरिकता कार्यदल संयोजक रामप्रताप थापाको टोलीले अध्यक्ष श्रेष्ठ र मन्त्री ढकालसँग बुधबार भेट गरेको हो ।

अध्यक्ष श्रेष्ठसँगको भेटमा एनआरएन टोलीले प्राप्त गर्ने नागरिकता विधेयक संसदमा प्रस्तुत हुन किन ढिलो भएको हो भनी चासो राखेका थिए । अंगिकृत नागरिकतबारे विवाद उत्पन्न भएको र त्यो विवाद अन्त्यका लागि उपसमिति गठन गर्नुपरेकाले नागरिकतासम्बन्धी विधेयक संसदमा प्रस्तुत हुन ढिलो भएको जवाफ अध्यक्ष श्रेष्ठले दिएको कार्यदल संयोजक थापाले जानकारी दिए । एनआरएनलाई सामाजिक सञ्जालको पछि नलाग्नसमेत अध्यक्ष श्रेष्ठले सुझाएकी थिइन् ।

गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकारभन्दा तलमाथि नहुने गरी सरल र प्रष्ट भाषामा ऐन आउनुपर्ने सुझाव अध्यक्ष श्रेष्ठलाई आफूहरुले दिएको संयोजक थापाले बताए ।

नागरिकता विधेयकबारे कुनै दुविधा नरहेको मन्त्री ढकालले स्पष्ट पारे । ‘मन्त्रालयले कुनै विधेयक रोकेको छैन, एनआरएको टोलीसँगको भेटमा मन्त्री ढकालले भने, ‘विधेयक रोकेर संविधान कार्यान्वयनमा अवरोध गर्ने मन्त्रालयको चाहना होइन ।’ संसदमा पेश गर्नुपर्ने धेरै विधेयक भएकाले केही ढिलो भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *