राजतन्त्र पुर्नबहालीको लागि शाही युवा शक्तिले वैशाख ३० गते नेपाल बन्द गर्ने

Rajabadiकाठमाडौं– शाही युवा शक्ति नेपालले छिटोभन्दा छिटो राजतन्त्र पूर्नवहाली गर्नुपर्ने भन्दै आगामी बैशाख ३० गते नेपाल बन्द गर्ने चेतावनी दिएको छ ।

शाही युवा शक्ति नेपालले बैशाख ३ गते मोटरसाइकल र्‍याली, काठमाडौं, ललितपुर र भक्तपूरमा गणतन्त्रको सशक्त विरोध गर्न सभा आयोजना गर्ने, जेठ १५ गते गणतन्त दिवसको अवसर पारेर खुल्लामञ्चमा बृहत् सभा गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु अघि सारेको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति (आरवाईपी)ले राजा ज्ञानेन्द्रसँग प्रमुख राजनीतिक दलहरुले तत्कालिन अवस्थामा गरेको सम्झौताहरु कार्यान्वयन नगरेको बरु विदेशी डलरमा राष्ट्रियता बेचेको भन्दै शीर्ष नेताहरुलाई खबरदारी गर्न नेपाल बन्द लगायतका बृहत्त विरोधका कार्यक्रमहरु अघि सारेको बताएको हो ।

शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले भने, ‘राजतन्त्र पूर्नवहालीको लागि हामी सडक संघर्षमा होमिसकेका छौं, युवाहरुको तातो जोशले राजतन्त्र पूर्नवहाली भैछाड्छ, हामी मिशनमा छौं, यो मिसन पूरा गरेरै छाड्छौं ।’

अध्यक्ष खड्काले राजाका नजिकका आसेपासेहरु अवसरवादी भएको कारण मुलुकमा राजतन्त्र पूर्नवहाली हुन ढिला भएपनि आफूहरु जागिसकेकोले अब छिट्टै राजा नारायणहिटीमा आउने दाबी गरे । उनले भने, ‘यो देशमा राजा नआएसम्म मुलुक र जनताले चैनको सास फेर्न सक्दैनन्, त्यसैले राजा ज्ञानेन्द्रले मात्रै मुुलुक र जनताको भलाई गर्नसक्नुहुन्छ, नेताको काम छैन ।’