सरकारले कृत्रिम अभाव सिर्जना गर्‍यो : राणा

काठमाडौं– नेपाल तरुण दलका अध्यक्ष एवम् सभासद उदयशमशेर राणाले वर्तमान सरकारले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राणाले भने, ‘बनावटी अभाव सिर्जना गरेर सरकारले कालोबजारीलाई प्रोत्साहन गरिरहेको छ, यसको तत्काल समाधान गर्नुपर्छ ।’

नाकाबन्दी अन्त्य भएको महिना दिन पुगिसक्दा पनि जनताले आधारभूत आवश्यकत्ता पूर्ति गर्न नसकिरहेको उल्लेख गर्दै अध्यक्ष राणाले ग्याँस लगायत इन्धन साम्रागीको व्यवस्थापन गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरे । त्यस्तै उनले भूकम्पपीडितलाई समेत राहत तथा उचित व्यवस्थापन गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।

यसअघि पनि उक्त विषयमा ध्यानाकार्षण गराउन आफ्नो नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको भएपनि सरकारको तर्पmबाट कुनै सकारात्मक पहल नचालिएकोले यसपटक पनि समस्याको समाधान गर्न ढिलासुस्ती गरिए तरुण दल बाध्य भएर आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिए । उनले तत्काल संसद अधिवेशन बोलाउन समेत माग गरेका छन् ।