बुटवलमा सन्तोष बने प्रदर्शनी आइडल

बुटवलमा जारी तेह्रौँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको मुख्य आकर्षण बनेको खुल्ला आधुनिक गायन प्रतियोगिता ‘प्रदर्शनी आइडल–४’ को उपाधि रुपन्देही शङ्करनगरका सन्तोष रानाले जितेका छन् । सोमबार साँझ अबेर घोषित मत परिणामअनुसार २६ हजार भन्दा बढी दर्शक मतमध्ये सर्वाधिक मत प्राप्त गरी सन्तोषले उपाधि जितेका हुन् । सन्तोष बागेश्वरी सङ्गीतालय बुटवलका सङ्गीत प्रशिक्षार्थी हुन् । उनी सङ्गीतको तेस्रो वर्षमा भोकल सिक्दैछन् ।
प्रतियोगिताका उपविजेता रुपन्देहीको नयाँमिल घर भएका कृष्ण भट्टराई भएका छन् । उनी पनि बागेश्वरी सङ्गीतालयकै सङ्गीत प्रशिक्षार्थी हुन् । कृष्णले मणिग्रामस्थित न्यू इन्भाइरनमेन्ट उच्च माविमा सङ्गीत प्रशिक्षणसमेत गर्छन् । प्रतियोगितामा बुटवल सुक्खानगरका मनिष थापा तेस्रो भएका छन् । उनी एभरेष्ट उच्च माविमा अध्ययनरत छन् । यस्तै, बुटवलकै प्रिया भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् । उनीहरुले क्रमशः रु ६५ हजार ५५५, रु ३० हजार ५५५, रु २० हजार ५५५ र रु १० हजार ५५५ नगद पुरस्कार प्राप्त गरेका छन् ।