लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा गोमा राना चयन भएकी छन् । शनिबार फार्नबरोमा सम्पन्न संस्थाको साधारणसभाले रानालाई अध्यक्षको जिम्मेवारी सुम्पेको हो ।
यसअघिकी अध्यक्ष प्रमिला लावुङ राईले कार्यकाल पूरा नहुँदै अध्यक्षको जिम्मेवारी सुम्पिएपछि कार्यसमितिकी उपाध्यक्ष राना नेतृत्वमा आएकी हुन् ।
साधारणसभाकै अवसरमा फोनिज यूकेले बेलायतमा रहेर नेपाली पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरूप दुई पत्रकारलाई सम्मान गरेको छ ।
फोनिजका सल्लाहकारद्वय पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष नरेश खपांगी र केन्द्रीय प्रतिनिधि विमला सेनेलाई सम्मानपत्र र खादासहित सम्मान गरिएको हो ।
साधारणसभामा प्रमुख अतिथि आदिवासी जनजाती महासंघ यूके अध्यक्ष कर्मा पहाडी शेर्पा, फोनिज यूकेका सल्लाहकारहरु एकेन्द्र गुरुङ, मिलन तमु, नरेन्द्र नेम्वाङ लगायतले शुभकामना दिएका थिए ।
फोनिज यूकेमा नयाँ अध्यक्षको चयनसंगै दुई कार्यकाल अध्यक्ष निर्वाचित प्रमिला लावुङ राई कार्यसमितिबाट बाहिरिएकी छन् । राई नेपाल पत्रकार महासंघ यूकेमा समेत उपाध्यक्ष छन् ।
सन् २०१३ मा स्थापना भएको फोनिज यूके शाखा अन्तर्गत बेलायतमा सक्रिय आदिवासी जनजाती पत्रकारहरु आबद्ध छन् ।
तस्विर: मिलन तमु






