काठमाडौँ, २१ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावसम्बन्धमा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज अधिवक्ता डा दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गर्नुभयो । शुक्रबार बिहान ११ बजे पुनः सुनुवाइ सुरु हुनेछ ।
अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनिलरञ्जन सिंहले बुधबार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोगको प्रस्ताव संविधानविपरीत भएको जिकिर रिट निवेदन दायर गर्नुभएको थियो ।
निवेदनमा संविधानको धारा १०१ (२) अनुसार महाभियोग लगाउन कुनै पनि कुराले नमिल्ने जनाउँदै महाभियोगसम्बन्धी कुनै पनि काम कारबाही अघि नबढाउन अन्तरिम आदेशको माग गरिएको छ ।
सभामुख, व्यवस्थापिका–संसद् सचिवालय तथा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयलाई विपक्षी बनाई दायर गरेको निवेदनमा प्रहरी नायब महानिरीक्षकसम्बन्धी अदालतमा विचाराधीन मुद्दाको विषयवस्तुलाई लिएर संसद्ले सिधै हस्तक्षेप गरेको निवेदनमा उल्लेख छ ।
अदालतमा बेन्च तोक्ने प्रधानन्यायाधीशको विशेष अधिकार भएको हुँदा त्यस विषयमा महाभियोग प्रस्ताव दर्ता गर्नु संसदीय विशेष अधिकार नभई सिधै हस्तक्षेप भएको निवेदनमा उल्लेख छ । ‘स्वतन्त्र ढङ्गले निष्पक्ष रुपमा काम गरिरहेका अवस्थामा संवैधानिक सिद्धान्तमा नै खतरा उत्पन्न हुने दूरगामी असर पार्ने गरी गरिएको महाअभियोगको प्रस्ताव’लाई अग्राधिकारसहित हेर्न माग गरिएको छ ।






