न्यू कास्टल नेपलिज कम्युनिटीले होली धमाका गर्दै

तक्दीर अधिकारी

सिड्नी ।  न्यू कास्टल स्थित नेपलिज कम्युनिटी अस्ट्रेलियाले होली पर्वको अवसर पारेर होली मेला तथा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

कम्यूनिटीले पहिलो पटक यही मार्च १८ गते शुक्रवार फोरशोर पार्कमा मध्यान्ह १२ बजेदेखि बेलुकी ६ बजेसम्म चर्चित नेपाली कलाकारहरुको साथमा सांगितिक धमाका सहित अन्य विविध कार्यक्रम गर्ने भएको हो ।

न्यू कास्टल क्षेत्रमा पछिल्लो समय नेपालीहरुको बसोबासी बढ्दै गईरहेकाले नेपाली संस्कृतिको पहिचान गराउने, संस्कृतिको जगेर्ना, तथा कला र रितिरिवाज झल्काउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको न्यू कास्टल नेपलिज कम्युनिटीका अध्यक्ष बाबुराज कडरियाले जानकारी दिए । नेपाली कला संस्कृतिको बारेमा अन्य समुदायलाई समेत जानकारी गराउने समेत उद्धेश्य रहेको उनको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु शिशिर भण्डारी, अल्मोडा राना उप्रेती, दिनेश काफ्ले, रमन रेग्मी, नरेश रेग्मी, भवेश भट्टराई तथा अस्ट्रेलियामा रहेका अन्य नेपाली स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने छ ।

कार्यक्रममा निशुल्क प्रवेश रहेको आयोजकले जनाएको छ । कार्यक्रमलाई न्यू कास्टल स्थित विभिन्न व्यापार व्यवसायहरुले साझेदारी एवम् सहयोग गरेका छन् ।