काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत कारोबारी एप र वेबसाइट बन्द गर्ने प्रक्रिया थालेको छ ।
नेपाली पैसा अवैधरूपमा विदेशिएसँगै र डिजिटल नेटवर्किङमा ठगिने बढेपछि सरकारले नियन्त्रणको लागि काम सुरु गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणका उप निर्देशक सूर्यप्रसाद लामिछानेले नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत सबै अवैध आर्थिक कारोबार गर्ने एप बन्द गर्ने निर्देशन दिएको बताए ।
अर्थमन्त्री जनार्दन शर्माले बजेको अर्धवार्षिक समीक्षाको बेला क्रिप्टोकरेन्सी र बिटक्वाइनजस्ता अवैध कारोबार बढेको भन्दै सरकारले यसलाई रोक्ने तयारी गरिरहेको संकेत गरेका थिए ।
विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताबारे गरिएको अध्ययनअनुसार नेपालमा त्यो संख्या ४ लाख २३ हजार ८ सय ४० जना छ ।






