लण्डन । गैर आवासीय नेपाली सघं अमेरिकाज् क्षेत्रका क्षेत्रीय सयोंजक राजन त्रिपाठीले आफुले आशन्न एनआरएनको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
सबैको साझा संस्था भएपनि पछिल्लो समय एनआरएन ईगो र प्रतिशोधको भावनाले फुटको स्थितिमा पुगेको भन्दै त्रिपाठीले यस्तो अवस्थामा जित्नु र हार्नुको कुनै औचित्य नरहेकाले आगामी निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने बताएका हुन् ।
त्रिपाठीले सामाजिक सञ्जालमा एक सामाग्री पोष्ट गर्दै प्रवासमा रहेका सबै विचार,वर्ग र समुदायको प्रतिनिधित्व गर्ने एक मात्र साझा संस्था भएपनि पछिल्लो समय एनआरएनमा गुट र फुटले विभाजनको स्थिति निम्ताएको बताएका छन् ।
उनले आफुले उम्मेदवारी नदिएको बताउँदै फुटको यो अवस्थामा कुनैपनि पद र समुहमा नरहने समेत स्पष्ट पारेका छन् । त्रिपाठीले एनआरएनलाई फुटबाट जोगाई एकाताबद्द राख्न,पद र व्यक्तिगत आकांक्षा भन्दा माथी उठेर संस्थापक, अग्रज तथा सम्पूर्ण जिम्मेवार नेतृत्वले भूमिका निभाउन पनि आग्रह गरेका छन् ।
राजनैतिक, क्षेत्रिय र जातीय रुपमा संगठित हुने आ-आफ्ना संगठन भएकाले गैरआवासीय नेपाली संघलाई सबैको साझा बनाउने तर्फ ध्यान केन्द्रीत गर्न उनको अनुरोध छ । विभाजन र टुटफुटले संस्था अगाडी नबढ्ने भन्दै उनले सहमति, सहकार्य र सह अस्तित्व कायम राख्न समेत आग्रह गरेका छन् ।







