कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय नियमित उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ ।

जजिराले बुद्ध जयन्ती अर्थात जेठ २ गतेदेखि कुबेत-भैरहवा-कुवेत नियमित उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन दिएको छ । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ ।

प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कणर्ले जजिराले जेठ २ देखि नियमित उडानका लागि निवेदन दिएको बताए । जजिराले कुवेत सिटीबाट भैरहवा र भैरहवाबाट कुवेत सिटी दैनिक उडान गर्न निवेदन दिएको उनले बताए । जेठ २ गते बुद्ध जयन्ती पारेर जजिरा एयरलाइन्सले नियमित उडान सुरु गर्नेछ ।

सरकारले बुद्ध पूणर्िमाको दिन अर्थात जेठ २ गतेदेखि विमानस्थलमा नियमित उडान शुरु गर्ने घोषणा गरेको थियो । त्यसअघि वैशाख १ गते नेपाल एयरलाइन्सले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ । त्यसपछि वैशाख ७ गतेदेखि विमानस्थल व्यवसायिक उडानका लागि खुला हुने कणर्ले बताए ।

विमानस्थलमा ७ गतेदेखि आन्तरिकतर्फ नियमित उडान हुनेछ । वैदेशिक रोजगारीमा जाने धेरै नेपाली भएका देशले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने अपेक्षा प्राधिकरण अधिकारीहरुको छ । यसअघि विमानस्थलमा एरो थाइको जहाजबाट क्यालिब्रेसन फ्लाइट गरिएको थियो । त्यसपछि विमानस्थल उडान योग्य भइसकेको प्राधिकरणले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि कुनै कारणवश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै जहाज अवतरण हुन नसकेको खण्डमा यही विमानस्थलमा डाइभर्ट गरिनेछ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेको अवस्थामा बंगलादेश वा भारतका विमानस्थलमा डाइभर्ट गर्नुपर्ने बाध्यता छ । अब त्यो बाध्यता हट्ने प्राधिकरणको विश्वास छ ।