काठमाडौँ । आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेका थिए ।
नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप करिब ६५ वर्षको लामो प्रतिक्षापछि नेपालमा लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्थासहितको संविधान जारी गर्ने कामले सफलता पाएको थियो ।
उक्त दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते नै संविधान दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा यसवर्ष पनि संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक-सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेसभुसा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।
आज अन्य विविध कार्यक्रम पनि गरेर संविधान दिवस मनाइँदैछ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने छ ।
दिवसका अवसरमा राष्ट्रपतिदेखि प्रमुख दलका शीर्षनेताहरुसम्मले शुभकामना व्यक्त गरेका छन् । दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।
संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुँदैछ ।






