काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत दिने भएका छन् ।
दोस्रो पटक संसद पुनःस्थापना भएपछि बस्न लागेको प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिने भएका छन् । जसको लागि संसद सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता भएको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।
सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुुक्त नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन् । उनी गत असार २९ प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
उनले १३६ सांसदको समर्थन पाए मात्र अबको बाँकी कार्यकाल प्रधानमन्त्रीको रुपमा शासन गर्न पाउनेछन् । होइन भने संसद विघटन हुनेछ ।
विश्वासको मत दिन काँग्रेसका ६१, माओवादीका ४९, जसपाको उपेन्द्र पक्षका १७ जना सांसद स्पष्ट देखिएका छन् । उनलाई अझै ९ सांसदको समर्थन आवश्यक पर्नेछ । त्यसको लागि नेकपा एमालेको माधव कुमार नेपाल पक्षले भोट दिनुपर्ने हुन्छ । देउवालाई विश्वासको मत दिने या नदिने भन्नेबारे निर्णय गर्न नेपाल पक्ष यतिबेला बैठक बसिरहेको छ ।






