एनआरएनएको चुनाव अनलाइनबाट हुने, अध्यक्ष पदमा उम्मेद्वारी शुल्क १० लाख

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी अक्टोबर २३ देखि २५ सम्म १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार बसेको बैठकले पन्तकै संयोजकत्वमा आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । प्रवक्ता डिबी क्षेत्रीद्वारा हस्ताक्षरित एनआरएनएको विज्ञप्ती अनुसार अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको छ ।

यसका साथै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ ।  निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय भएको छ ।

गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको छ ।

बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट पारित गरेको छ ।

अध्यक्ष लड्नको लागि १० हजार डलर

उक्त बैठकले उम्मेद्वारी पेश गर्नेहरुको निम्ती शुल्क निर्धारण गरेको छ ।

जस अनुसार अध्यक्ष लड्नेको लागि १० हजार अमेरिकी डलर अर्थात १० लाख नेपाली रुपैया, उपाध्यक्ष तथा महासचिवको लागि ६ हजार डलर, सचिव तथा कोषाध्यक्षको लागि ५ हजार डलर, सहकोषाध्यक्षको लागि ४ हजार, महिला तथा यूवा संयोजकको लागि ३५सय तोकिएको छ । त्यस्तै क्षेत्रीय संयोजकको लागि ३५ सय, क्षेत्रीय उपसंयोजकको लागि २५ सय, क्षेत्रीय महिला तथा युवा संयोजकको लागि २५ सय र आईसीसी सदस्यको लागि १ हजार डलर उम्मेद्वारी शुल्क तोकिएको छ ।

आईसीसीको कुनै पनि कार्यकालको शुल्क नबुझाएका उम्मेद्वारहरुले पहिलेको बाँकी शुल्क नबुझाएमा वा योग्यता पुगेको नदेखिएमा उम्मेद्वारी रद्ध गरिने विज्ञप्तीमा जनाइएको छ । निर्वाचन मण्डलका शिव प्रसाद रिजालका अनसार निर्वाचन सम्बन्धी कार्यक्रमको विस्तृत विवरण पछि सार्वजनिक गरिने भएको छ ।

विगतका बर्षमा नेपालमा भव्य समारोहका साथ चुनाव हुने भएतापनि यस बर्ष भने अनलाइनबाट गर्ने निर्णय भएको छ । कोरोना भाइरस महामारीको कारण विभिन्न देशले लगाएका प्रतिबन्ध तथा स्वास्थ्य मापदण्डको कारण उक्त निर्णय गरिएको हो ।

विगतका बर्षहरुमा नेपालको राजधानी काठमाडौँमा आयोजित महाधिवेशनमा भएजस्तो हुलहुज्जत र रवाफ देखाउन अहिले नपाउने भएका छन् ।