आइसीसी सदस्य सापकोटा एनआरएनए यूकेको निर्वाचन समितिमा मनोनयन (पत्र सहित)

लन्डन – गैर आवासीय नेपाली संघ युकेको निर्वाचन समितिमा संघकै आइसीसी सदस्य दयानिधि सापकोटालाई मनोनयन गरिएको छ।
लेस्टर निवासी सापकोटा बेलायत स्थित नेपाली समाज का एक सक्रिय तथा सुपरिचित व्यक्तित्व हुन्।

लन्डन नेपाल न्युजसंग छोटो कुरा गर्दै सापकोटाले एनआरएनए यूकेको निर्वाचन स्वतन्त्र, निष्पक्ष र तोकिएकै समयमा सम्पन्न गर्न आफुले काम गर्ने जनाए।संघको नयाँ कार्य समिति चुन्न ३१ जुलाई २०२१ मा निर्वाचन हुँदै छ।

निर्वाचन समिति सन्तुलित भएन भन्ने चर्को दबाब परे पछि समितिको सदस्यमा सापकोटालाई सर्व सम्मतिबाट थप गरिएको हो।

समितिका अन्य सदस्यहरुमा सोलिसिटर राजु थापा, सुबासिं गुरुङ, पशुपति पोख्रेल तथा सदस्य सचिवमा कर्ण शाही रहेका छन्।

समितिले पहिले १५ जुलाई देखि उम्मेदबारी दर्ता गर्ने कार्य तालिका प्रकाशित गरे पनि सदस्यहरुको छानबिनको काम नसकिएको भन्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिदिएको थियो। संशोधित कार्यतालिका अनुसार अब उम्मेदबारी दर्ता १९ जुलाई बिहान १ बजे देखि राति ८ बजे सम्म र अन्तिम उम्मेदबारी नाम प्रकाशन २२ जुलाईमा राखिएको छ।