सिड्नी । न्यू साउथ वेल्सको ग्रेटर सिड्नीमा कोरोनाभाइरस संक्रमणको अवस्था झनै बढ्न थालेसँगै सरकारले कडा प्रतिबन्धहरु लागू गरेको छ ।
एनएसडब्लु प्रिमियर ग्लाडिस बेरेजिक्लियनले शनिवार पत्रकार सम्मेलन गर्दै अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्न निर्देशन दिएकी हुन् । तीन हप्तादेखि लकडाउनमा रहेको सिड्नीमा अब अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका हुन् ।
जस अनुसार सुपरमार्केट तथा खाद्यान्न पसलहरु, औषधि पसल, पेट्रोल स्टेशन, बैंक तथा वित्तिय संस्थाहरु, हार्डवयर, कार हायर, कृषिजन्य पदार्थ उत्पादन र विक्री, पोष्ट अफिस, न्यूज एजेन्सी, मसलन्द वितरण, घरपालुवा जनावरको दानासहित अत्यावश्यकबाहेक अन्य सबै सेवाहरु बन्द हुने भएका छन् ।
शनिवार राति १२ बजेदेखि लागू हुने उक्त प्रतिबन्धअनुसार फेयरशिल्ड, लिभरपुल र क्याटबेरी ब्यांसटाउन क्षेत्रका बासिन्दाहरुलाई घरबाहिर निष्कन निषेध गरिएको छ ।
जुलाई १९ देखि निर्माणकार्यहरु बन्द हुनेछ भने २१ जुलाई देखि घरमै बसेर काम गर्नेगरी व्यवस्था मिलाउन रोजगार दाताहरुलाई अनुरोध गरिएको छ । उक्त आदेश पालना नभए १० हजार जरिवाना तिराइनेछ ।
वितेको २४ घण्टामा सिड्नीमा ८० बर्षका पुरुषको निधन भएको छ भने ११९ नयाँ संक्रमित थपिएका छन् ।






