तक्दीर अधिकारी, सिड्नी ।
बार्षिक ४० अर्व भन्दा धेरै शिक्षा क्षेत्रबाट राजस्व उठाउने गरेको अष्ट्रेलिया सरकारले भिजा प्रक्रिया पुरा भइ स्वदेशमै रोकिएका विद्यार्थीहरुलाइ आफ्नो देशमा बोलाउनको निम्ती पर्ख र हेरको स्थितीमा रहेको छ । महामारीको अवस्था कस्तो हुन्छ भन्ने कुराले नै विद्यार्थी ल्याउने नल्याउने कुरा निर्धारण गर्ने सरकारले जनाएको छ । परिस्थिती सहज भएको खण्डमा भिजा लागेर महामारीले सिर्जित परिस्थितीको कारण अष्ट्रेलिया आउन नपाएका विद्यार्थीहरुलाइ भने एडिलेड शहरमा बोलाउने तयारी भएको बुझिएको छ । सेप्टेम्बर महिनादेखी एडिलेडमा करिब ३ सय विद्यार्थीलाइ स्वागत गर्ने तयारी भइरहेको छ ।
“पहिरो लटमा एडिलेड युनिभर्सिटीले ३ सय विद्यार्थी ल्याउने तयारी गरेको छ, १४ क्वारेन्टाइनको खर्च व्यवस्थापन पनि विश्वविद्यालयले नै गर्नेछ”, लामो समयदेखी नेपाली विद्यार्थीहरुलाइ अष्ट्रेलियामा अध्ययन भिषा दिलाउन काम गरिरहेका ओपल एजुकेशनल कन्सलटेन्सीका सञ्चालक विवेक थापाले भने, “शुरुमा आएका विद्यार्थीहरुबाट संक्रमण नफैलिएको खण्डमा अथवा अवस्था नियन्त्रणमा रहेमा अर्काे लटमा विद्यार्थी ल्याउने निर्णय सरकारले गर्छ” ।
शुरुको लटमा एडिलेड युनिभर्सिटीमा भर्ना भइ हाल स्वदेशमै अनलाइन अध्ययन गरिरहेका विद्यार्थीहरु अष्ट्रेलिया आउनेछन् । त्यसपछि अन्य विद्यार्थीहरुको निम्ती बाटो खुल्नेछ । एडिलेड युनिभर्सिटीमा विशेषगरी भारत, चिन, हङ्कङ, जापान लगायतका देशका अन्तराष्ट्रिय विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ।
“यो युनिभर्सिटी अलिक महंगो छ, त्यसैले नेपालीहरु खासै यहाँ अध्ययन गर्न आउँदैनन”, थापाले भने, “सिड्नी, मेलबर्न लगायतका क्षेत्रमा अध्ययनकोे बाटो खुल्न त अझै केही महिना लाग्छ” ।
हाल अष्ट्रेलियामा कोरोना भाइरस महामारी र यसलाइ नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण धेरैको रोजगारी गुमेको छ । त्यसमा पनि नेपाली विद्यार्थीहरु अझ बढी प्रताडित बन्नुपरेको अवस्था छ । उनीहरु दैनिक छाक टार्न पनि समस्या परेर सामाजिक संस्था गुहार्न बाध्य छन् । यसप्रकारको विषम परिस्थितीमा अध्ययनको निम्ती यहाँ आएपनि सहज छैन ।
अष्ट्रेलियाका संघीय वाणिज्यमन्त्री सिमोन बरमिङघमलले पनि केही दिन अघि यहाँ अध्ययन गर्न आउने विद्यार्थीलाई सुरक्षित तरिकाले ल्याउने उद्धेश्य सहित एक पाइलट परियोजना सञ्चालन गर्ने बताएका थिए । सोही अनुरुप शुरुमा ३ सय विद्यार्थीलाइ अष्ट्रेलिया बोलाउने तयारी भएकोे हो । तर अवस्था हेरिकन यसपछिका निर्णयहरु हुने जनाइएको छ ।
यसो त, अष्ट्रेलिया स्थित नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले हाल यहाँ अवस्था जटिल रहेको कारण नेपालीहरुलाइ भिषाको प्रक्रियाको निम्ती हतार नगर्न सुझाव दिएका छन् । नेपालमा हवाइ यातायात खुल्न र जनजीवन सामान्य हुनको निम्ती धेरै समय लाग्ने भएको बाध्यात्मक परिस्थितीकै कारण पनि नेपाली विद्यार्थीलाइ अष्ट्रेलिया आउन बाटो त खुलेको छैन, तर पनि यदि खुलीहालेको खण्डमा यहाँ सजिलो भने पक्कै पनि हुनेछैन् ।






