लन्डन । बेलायती महारानी एलिजाबेथ द्धितियको निधनप्रति दुःख व्यक्त गर्दै गैर आवासीय नेपाली सघं एनआरएन युकेले शोक सभा सम्पन्न गरेको छ । महारानीको स्वर्गारोहण भएको ९ औँ दिनको अवसर पारेर एनआरएनएले श्रद्धाञ्जली अर्पण सहित शोक सभा सम्पन्न गरेको हो ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमा शोक सभा गरिएको हो । शोकसभामा स्वतस्फूर्त सहभागी भएका सर्वसाधारण तथा एनआरएनए अभियन्ताहरुले माल्यार्पणसहित श्रद्धान्जलि अर्पण गरेका थिए । भने दुई मिनेट मौनधारण समेत गरिएको थियो ।
शोकसभामा अध्यक्ष प्रेमगाहामगर, प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन्द्र क्षेत्री, सल्लाहकार ओमप्रसाद थापा, स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङ लगायतले शोकमन्तव्य दिंदै स्वर्गीय रानीप्रति श्रद्धान्जलि अर्पण गरे ।
कार्यक्रममा शोक मन्तव्य व्यक्त गर्दै उनीहरुले नेपाल र ब्रिटिश गोर्खाहरुसंग निकट रहेकी महारानीको निधनले अपुरणीय क्षति पुगेको धारणा राखे । ब्रिटिश सैनिकको जागिरका सिलसिलामा राजपरिवारसंग आफ्नो निकट सम्बन्ध भएको चर्चा गर्दै अध्यक्ष गाहामगरले गोर्खाहरुले आफ्नो अभिभावक गुमाउंदा दुःख लागेको बताए ।
महारानी गोर्खा वेलफेयर ट्रष्टको हेड अफ द ट्रष्टी भएको र भूतपूर्व गोर्खाहरुका लागि धेरै कल्याणकारी कार्यमा सहयोग गरेको जनाउंदै गाहामगरले राजपरिवार ‘डाउन टु अर्थ’ भएको आफूले पाएको पनि बताए ।
एनआरएनए यूके प्रवक्ता भरतमणि चोङवाङले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए । बेलायती महारानीको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदैछ । उनको ८ सेप्टेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।





भिडियोमा हेर्नुहोस् :






