संसदबाट अनुमोदित सम्झौता एमसीसी मुख्यालयले गर्यो स्वीकार

काठमाण्डौ । संसदले आईबार अनुमोदन सहित पारित गरेको अमेरिकी आर्थिक सहयोग अनुदान सम्झौतालाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले स्वीकार गरेको छ ।

व्याख्यात्मक घोषणासहित अनुमोदन गरिएको सम्झौतालाई एमसीसीले स्वीकार गरेको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबारै टेलिफोन गर्दै खुसी व्यक्त गरेका थिए ।

एमसिसी मुख्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता अनुमोदन गर्ने निणर्यमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलकुका रूपमा प्रमाणित गरेको छ ।’ अनुमोदनसँगै पाँच वर्षमा परियोजना सम्पन्न हुनेतर्फ तयारीका लागि मद्दत गरेको पनि एमसिसीको भनाइ छ ।

परियोजनाले नेपालमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउनेछ,’ एमसिसी मुख्यालयको विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकार र एमसिसीबीच ०७४ भदौमा हस्ताक्षर भएको थियो ।

विद्युत् र सडक परियोजनाले नेपालका करिब ८० प्रतिशत जनतालाई लाभ पुग्ने एमसिसीको मूल्यांकन छ । नेपाल र अमेरिकाबीच ७५ वर्षको कूटनीतिक सम्बन्ध सम्झिँदै एमसिसीले यसबीचमा नेपालमा भएका विकास सहायता, प्रकोपको उद्धार, सहायता, स्वास्थ्य र शिक्षासँग सम्बन्धित कार्यक्रममार्फत अमेरिका सरकार र जनता नेपालसँगै उभिएको जनाएको छ ।

एमसिसी कार्यान्वयनका २० वर्षमा धेरै मुलुकमा गरिबी निवारणमा मद्दत पुगेको उसको दाबी छ ।