सुनसरी : सुनसरीको धरान- १८ बुद्धचोकस्थित ‘न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउस’ को कोठामा एक महिलाको शव फेला परेको छ ।
इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको मंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चोट समेत देखिएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का गर्ने काम भइरहेको छ ।
मृतकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए । मृतकका आफन्त आएर सनाखत गरपछि मुचुल्काको काम हुँदै गरेको र श्रीमान वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेको खुलेको उनले बताए । मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो ।
मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् । परपुरुषसँगको सम्बन्धले उनको हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका १ स्थायी ठेगाना भएकी महिलाका श्रीमान् भारतीय सेनाबाट अवकाश पाएपछि हाल ब्रुनाईमा रहेको खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।






