चीनमा सिसै सिसाको पुल निर्माण

बेइजिड, ११ असार । प्रविधिक क्षेत्रमा छलाङ मार्दै आएको चीनले फेरि अर्को एउटा अनौठो प्रयास गरेको छ । चीनले सिसै सिसाको पुल निर्माण सुरु गरेको हो । चीनको जांगजियाजी घाँटीमा निर्माण भइरहेको यो पुल ३ सय ८० मिटर उचाइमा रहेको छ । पुलमा सवार जो–कोहीले ३ सय मिटर तल रहेको जांगजियाजी घाँटीको दृश्य देख्न सक्नेछन् । चीनमै यस्तो किसिमको पुल निर्माण गरिएको यो पहिलोपटक हो ।
स्टिलको दुई पातामा अड्याइएको यस पुलको बीम पनि स्टिलकै रहेको छ । भूकम्प र तुफान प्रतिरोधात्मक यो पुलले ८ सय पर्यटकको वजन धान्न सक्ने पुलका निर्माता तेल अविबका आर्किटेक्चरको भनाइ छ । यो पुल आगामी अक्टोबरदेखि पर्यटकका लागि खुला गरिने भएको छ ।