बेलायतमा भएको अभ्यास खेलमा नेपाली क्रिकेट टोली पराजित

लण्डन, ११ असार । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा पराजय भोगेको छ । इंल्यान्डको काउन्टी क्लब मिडलसेक्स–११ ले विहीबार लन्डनमा भएको ट्वेन्टी–२० अभ्यास खेलमा नेपाललाई १४ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको मिडलसेक्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १ सय ६४ रन बनायो ।
जवाफमा १ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । आगामी जुलाई ९ देखि आयरल्यान्ड र स्कटल्यान्डमा संयुक्तरुपमा आयोजना हुने विश्वकप टी–२० छनोट प्रतियोगिताका तयारीका लागि नेपाली टिम अहिले इंग्ल्यान्डमा छ ।
नेपालले त्यहाँ चारओटा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ । दोस्रो खेल आगामी आइतबार हुनेछ । इंग्ल्यान्ड भ्रमण सकाएपछि नेपाली टोली चारओटा ट्वेन्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न नेदरल्यान्ड्स जानेछ ।