भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि नियमित उडान हुने भएको छ । निर्धारित समयभन्दा ५ वर्ष ढिला गरी निर्माण सम्पन्न भएको विमानस्थलको जेठबाट नियमित उडान गर्ने तैयारी गरिएको छ ।
विमानस्थलको निर्माण कार्य सकिएकाले अब आजबाट क्यालिब्रेसन फ्लाइट हुनेछ । यो विमानस्थल तीन महिनापछि नियमित सञ्चालनमा आउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले विमानस्थल तयार भएकाले बिहीवार नै थाइल्यान्डबाट एरो थाइको जहाज काठमाडौं आएर भैरहवा गएको छ । उक्त जहाजले शुक्रबारदेखि डेढ सातासम्म क्यालिब्रेसन फ्लाइट गर्ने छ । क्यालिब्रेसन फ्लाइट आगामी १० दिनसम्म हुनेछ ।
विमानस्थलको क्यालिब्रेसन सकेर १२ दिनपछि थाइको जहाज फर्कने छ । त्यसपछि आवश्यक प्रतिवेदन बनाउन दुई महिनाको समय लाग्ने छ । त्यसपछि अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न प्याकेज दिने र उडान गर्न आह्वान गर्ने प्राधिकरणले जानकारी दिएको छ ।
उक्त विमानस्थलबाट आगामी तीन महिनापछि (२ जेठबाट) नियमित व्यावसायिक उडान गर्ने तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । उक्त विमानस्थल निर्माण सम्पन्न भएपछि ७० वर्षदेखिको भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजना पूरा हुने अधिकारीले बताए ।
विमानस्थल निर्माण एसियाली विकास बैंकको ऋण सहयोगमा शुरू भएको थियो । यो विमानस्थल बनाउँदा ७ अर्ब एडीबीको र बाँकी ४ अर्ब नेपाल नागरिक उड्डयन प्राधिकरणको गरी कुल ११ अर्ब रुपैयाँ खर्च भएको छ ।
विमानस्थल ३ वर्षभित्रै सक्ने गरी निर्माण शुरू भएको भएपनि निर्धारित समयमा जम्मा २७ प्रतिशत मात्रै काम भएको थियो । निर्धारित समयमा निर्माण पूरा नभएपछि पुनः समय थप गर्दै निर्माण गर्दै गर्दा करिब ८ वर्ष लागेको पनि प्राधिकरणले जानकारी दिएको छ ।






