प्रेसर कुकरले हानेर दुई छोराले गरे आफ्नै बाबुको हत्या

काठमाडौं : कीर्तिपुरमा सोँच्नै नसकिने घटना भएको छ । आफ्नै जन्मदिने बुबालाई दुई छोरा मिलेर हत्या गरेको घटना सार्वजनिक भएको छ ।

प्रेसर कुकर र लोहोरो प्रहार गरी कीर्तिपुरमा छोराहरुले बाबुको हत्या गरेका छन् । ६५ वर्षका बाबुको हत्यामा संलग्न भएको भन्दै प्रहरीले काठमाडौं महानगरपालिका-१३ घर भई हाल कीर्तिपुर नगरपालिका-६ पाण्डेछाप बस्ने मृतकका माइलो छोरा ४५ वर्षीय शंकर महर्जन र कान्छो छोरा ४० वर्षीय कृष्ण महर्जनलाई पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी मरणासन्न हुने गरी कुटपिट गरेपछि घाइते भएका वृद्धको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद- १२ को ‘ज्यान सम्बन्धी कसूर’ मा प्रहरी बृत्त कीर्तिपुरले थप अनुसन्धान गरिरहेको छ।