जाजरकोट- नेपाली काँग्रेस जाजरकोटका वेदराज सिंहले जाजरकोटका काँग्रेस नेता रवीन्द्र शाह हत्या प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा मागेका छन् ।
नेपाल विद्यार्थी सङ्घले सदरमुकामको ठाँटीबजारमा विहिबार गरेको विरोधसभामा सिंहले राजिनामा मागेका हुन् । त्यस्तै, नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले पनि गृहमन्त्रीको राजीनामा मागे । शाहको हत्या भएको ४८ घन्टा बितिसक्दा पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै उनले पनि गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
गृहमन्त्रीले आफ्नो मात्र सुरक्षा गर्ने हो कि जनताको पनि सुरक्षा गर्ने हो भन्दै वक्ताहरुले प्रश्नसमेत गरेका थिए । हत्या भएका रवीन्द्र शाहको बिहीबार दाहसंस्कार गरिएको छ ।
प्रहरीले अहिलेसम्म हत्याका विषयमा केही पनि जानकारी दिएको छैन । शाहको चैत १५ गते बेलुका हत्या भएको थियो । उनी नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष थिए ।






